फालेन पासा शकुनी म बन्दै
बालेन आगो अधिकार भन्दै
मोलेन गोडा सिउँडी समाई
जिएँ सधैँ पौरखमा रमाई ।

सत्ता रतन्धो म हुँ रात सृष्टि
ममा परेनन् मनमोह दृष्टि
इमान बेच्दै जगमा हिँडेन
मेरै मलाई थरले चिनेन।

चाहेन मेट्नै वनराज रीति
मानेन लेख्नै शनिदेव नीति
न व्यास लेखे दिलको दुखाई
अरण्य देवी सुनिनन् रुवाई ।

गइन् हजारी इशको थलामा
गुलाब लागिन् दुलही गलामा
चम्पा लगाइन् रङसाथ मीत
बनिन् चमेली कविता र गीत।

जन्मेँ अध्यारो वन कन्दरामा
हुर्केँ अनेको खुब वेदनामा
पाएन माटो मल गोड पानी
फुलेन झुल्के शिरमा बिहानी।

छन् केतुकीका नमिठा प्रहार
छन् स्यालका नै गुलिया प्रचार
सोध्देन कोही दिलको कहानी
सुगन्ध छर्दै सकियो जवानी।

आदर्श माने सरिता बतास
रहेँ चिसोमा नहुँदा चलाख
राखून् नराखून् मनको धरामा
म फुल्छ पाखा वन कन्दरामा ।