मूलघर भनेको मेरा निम्ति अक्सिजनको भण्डार हो,
मूलघर भनेको मेरा निम्ति सजिलोसँग सास फेर्न सक्ने ठाउँ हो,
जहाँ मेरा बुवाका हजारौँ ठेलाहरू फुटेका छन्,
जहाँ मेरी मुमाका अनेकौँ घाउहरू दुखेका छन्

बुवाको निधारबाट अविरल चुहेको पसिनाले भिजेको छ मूलघर,
मुमाको आँखाबाट अविरल चुहेको आँसुले सिञ्चित भएको छ मूलघर
जहाँ बुवा-मुमाका आत्था र ऐयाहरू ओहोरदोहोर गरिबस्छन्

यो त्यही घर हो
जहाँ सुखहरू कम दु:खहरू धेर उम्रेका थिए,
जहाँ सञ्चोहरू कम बिसञ्चोहरू धेर पलाएका थिए

बाँझो जमिनमा लहलह सब्जीहरू उमार्ने
भिरालो जग्गामा पनि रङ्गीन फूलहरू फुलाउने
कति मलिला थिए बुवाका हातहरू !
भुटेका भात र चाना पकाएर खुवाउने
कति स्वादिला थिए मुमाका हातहरू !
फीका चिया र दाउराको आगोमा पोलेको भुके रोटीसित
इस्कुसको दम कति मीठो !
कालो दाल,सिद्राको अचार र बारीकै डुकुको तरकारीसित भात
आहा कति मीठो !
बुवाले खनेर बनाएको बारीमा
के हुन्थेन !
के फल्थेन!
पैसाको थैलीमा अनिकाल परे पनि
बारीमा
सहकाल फल्थ्यो
सहकाल उम्रन्थ्यो।

मूलघर भनेको
मुमाका दुखिया हातहरूले
रातो माटो र गोबरले लिपेका
पवित्र आँगन हो
चोखो चूल्हो हो

मूलघर भनेको
बुवाले जसोतसो जोहो गरेका सामानहरूले
ठोकठाक पारेका न्यानो बास हो !

अनकन्टारमा आएर बसोबासो गर्ने
सबैभन्दा पहिलो र पुरानो मान्छे भनेकै मेरा बुवा हुन्
भस्मे फाँड़ेर
आफ्ना हातखुट्टाहरूभरि चोट लगाएर
मेरा बुवाले सजिलो पारिदिएका ठाउँहरूमा
अरूको हाँक छ
अरूको धाक छ
जहाँ बुवाको बिसञ्चो इतिहास लुकेको छ
जहाँ मुमाको अपूर्ण सपना दुखेको छ

बुवाको बिसञ्चो इतिहास लुकेको
मुमाको अपूर्ण सपना दुखेको
घर हो मूलघर भनेको
जसको जीर्णोद्धार गरेर बसेको छु आज म

तर अफसोस!
जीर्णोद्धारपछि सजिएको मूलघरलाई देखेर
धेरै आँखाहरूमा ईर्ष्या नाचिबस्छ
धेरै मनहररूमा डाह उम्रिबस्छ
सुन्दै छु
हल्ला पनि,
बदख्वाइँ पनि,
मेरो घर मेरो होइन भन्ने
अचम्मकै निन्दा पनि
मेरो इतिहास नै चर्काउने गफहरू चम्किबस्छन्
मेरै आँगन वरिपरि

तर
आह्रिसे कानहरूले सुनून् –
देशले ऐनामा
आफ्नो स्वाधीन अनुहार हेर्न अघि नै
मेरा बुवाले बनाएको हो
मेरो मूलघर!
जुन घरको अँध्यारो कोठाभित्र
मेरी मुमाले
लम्पसारित भएर कति कष्ट झेलेकी थिई !
रोगले सुकेर त्यहीँ अन्तिम सास फेरेकी थिई ।

मूलघर भनेको
निसासिएर मेरी मुमाका सासहरू ओहोरदोहोर गरिबस्ने घर हो
छटपटिएर मेरा बुवाका मौन दुखाइहरू ओहोरदोहोर गरिबस्ने घर हो
जहाँ मेरी मुमाले मेरो बिरामी अवस्थामा
मेरो निधार छामिबस्छन् सपनामा पनि
मेरा बुवाले घर वरिपरि उम्रिएका झारपात पिसेर बनाएको औषधि
खुवाउँछन् मलाई सपनामा पनि

मूलघर भनेकै
मेरा निम्ति शान्तिको बास हो
जहाँ धुरीबाट चुहिबस्छन्
मुमा-बुवाका आशीर्वाद र स्याबासीहरू
दिनहुँ !
जहाँ दरबान भएर बसेका छन् कुलदेवता !
जहाँ डुलिबस्छन् पितृहरू पनि
मेरै सुरक्षाका निम्ति ।

होशियार !!

डाउहिल, खरसाङ
भारत