
खोलाले एकदिन
सदनमा पसेर बोल्यो–
“म जीवित छु, बग्न चाहन्छु”
सदनले भन्यो–
“खोला बासेको जाति हुँदैन
अब खोलाको दाह गर्नुपर्छ”
सदनले त
खोलाको समाधि बनाउन पो थाले
पु–यो जिउँदै खोलालाई
कस्सम
खोला त डरले लुकेर दौडियो
म खोलासँगै दौडिन सकिनँ
र, खोलासँग पौडिन पनि सकिनँ
हेर्दाहेर्दै, क्षितिज नाघेको खोला
लाखौं पटक घाम यही बाटो फर्क्यो
तर खोला फर्केन
म विश्वासमा
ढुंगा बनेर किनारमा उभिएँ
कसैले थुकेर गए
कसैले पुजेर गए
ढुंगा त आखिर
साक्षी त रहेछ
फर्क्यो,
बाह्रवर्षमा खोला फर्क्यो
उहि बाटो भएर फक्र्यो
उहि रोडम्यापमा फक्र्यो
जब खोला फर्कियो,
सदनको दाह भयो
र किनारमै समाधि बन्यो
रातको अन्तिम प्रहरमा
भाले बासे जस्तै
खोला पनि बास्छ
खोला बास्छ
किन कि खोला जिउँदै छ
प्रति उत्तरमा
उन्यु घारीबाट फ्याउरो बास्छ
गाउँमा त फ्याउरो बासेको नजाती भन्छन्
शंका छ
खोला फेरि हराउन सक्छ
म ढुंगा
फेरि साक्षी बन्न सक्छु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

