एक रात मैले शराब पिएको थिइनँ
न त बेहोस हुने गरी कुनै नशा नै सेवन गरेको थिएँ
हो, त्यही रात
एकान्तको भींड लाग्यो
शून्यताको भारीले थिच्यो
भोकले सास माग्यो
शोकले गाँस माग्यो
मौनताले स्वर मच्चायो
स्वाधीनताले नेल लागायो
समानताले न्याय निल्यो
वियोगान्तले भोज गर्यो
प्रेमले नेटो काट्यो
हो, त्यही रात
उज्यालोको बोझ बोक्नु अघिल्लो रात
अन्धकारले ऐंठन गराएको रात
आफ्नै भ्रूण हराएको रात
मैले एउटा सपना देखें
त्यही सपनाको काखमा थिए
युगौंदेखि
खुशी र सन्तोष खोजी रहेका रुन्चे मानवहरूको लस्कर
हो त्यही रातदेखि
चुपचाप आफ्नै लाश कुरेर उभिएको छ हर एउटा मानिस
र दुनियाँले पत्रपत्र केलाइरहेका छन्
एकअर्काको जन्मकुण्डली
जन्मकुण्डलीको पोष्टमार्टम रिपोर्ट !

ओ दुनियाँ
मलाई मेरो रात र सपनाबारे थप केही भन्नु छैन
अब अन्तिम सपना देख्नु पनि छैन
बस यति भन्नु छ
मानवतावादको चार्टरमा हस्ताक्षर गर्न
हतियारको प्रेममा तँछाड-मछाड छाड
बरु मृत्युले चितामा नाङ्गै लघार्नुअघि
खून रोप र जीवन उमार ।