
मुर्दा बाँचेपछि
सबै मुर्दाले,
आफूलाई बाहेक
अरु सबैलाई मुर्दा देख्छन्
आफ्नो धरातल बिर्सन्छन्
अस्तित्व बिर्सन्छन्
मुर्दा बाँचेपछि
लोकाचारको विषालु
लड्डु बाँड्दै,
सबैको आँखामा छारो हाल्छन्
आफ्नै सन्तानका,
सोसल साइटमा
पढ्नै नसकिने मीठा
शब्दहरूको पारो हाल्छन्
मुर्दा बाँचेपछि
एकपछि अर्को अपराध
थप्दै जान्छन्,
इमानदार छु भन्ने पार्नलाई
राम नाम जप्दै जान्छन्
मुर्दाले आफ्नो गल्ती
स्वीकार गर्दै–गर्दैनन्,
कसैले भलो गरेको
देख्दै–देख्दैनन्
मुर्दा बाँचेपछि,
आफूलाई चानेचुने होइन
राजकुमार देख्छन्
मुटुमा नै घोच्ने गरी
सबैलाई आइ लभ यु लेख्छन्
मुर्दा बाँचेपछि,
आफ्नो पहिचान
बनाइदिनेलाई
नून र चुक दलेर
पर सार्छन्
असल हुँ भन्ने पार्नलाई
अर्काको गोठ नै उठाएर
आफ्नोमा झार्छन्
हामी मुर्दाका
अन्धभक्त फ्यानहरू,
मुर्दाको नाच हेर्नलाई
आँखामा पावर भएको
चश्मा थप्दै छौँ
आफूले–आफूलाई बिर्सिएर
त्यही मुर्दाको नाम जप्दैछौँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

