कविताः पिपलबोट सडक, म र मुटु

त्रिभुवनचन्द्र वाग्ले

त्रिभुवनचन्द्र वाग्ले

साहुनीलाई दुईकप चियाको भुक्तानी गर्न

एउटा डक्को नोट भाचेँ
केही नून केही ऊन
केही मट्टीतेल, साबुन, मसला र बल्बको निम्ति
चोइट्याउँदै सकेँ
भरे साँझको निम्ति खोल्तीको पीँधमा
केही टुक्रा बाँकी हुनन्
खोल्तीको पीँध र घैंटाको पीँधमा
समन्वय त हुन दिनोस्
भरे देख्नु हुनेछ पिपलबोट सडक !
डक्को नोट भाँचेर
भट्टीका बहिनीहरू
रोदीका सोल्टिनीहरू
पान पसलका भैया औ
रेष्ट्राँका मैयाँलाई भुक्तानी दिए झैं
मेरो मुटु
छोराछोरी, प्यारी औ
आमाबाबु र  दाजुभाइमा
टुक्राटुक्रा गरेर किन बाँड्न सकिन ?
कति अविभाज्य, कति निजी छ मेरो मुटु
यसले आफूलाई किन
सार्वजनिक महत्त्वको बनाउन सकेन हँ ?
(वाग्ले पछिल्लो समयका बेजोड कवि हुन् । उनी साहित्यिक पत्रकार समेत हुन् ।)