मलाई यस्तो नेपाल हेर्न मन छ
जहाँ सेतै फुलेका हिमालको काखमा
सुन फलाउन फर्कनेछन् युवाहरू
जहाँ लालीगुराँशले फलाउने छ प्रेम
सेतो गुराँशले फैलाउने छ प्रेम

मलाई यस्तो नेपाल हेर्न मन छ

जहाँ कुनै पुरुषत्वको अहम हुने छैन
जहाँ कुनै अधिकारको दमन हुने छैन
नारीत्वले भत्काउने छैन आफ्नै गुँड
बचेराले रित्याउने छैनन् आफ्नो गाउँ

मलाई यस्तो नेपाल हेर्न मन छ

जहाँ मौलाउने छैनन् भ्रष्टचारीहरू
जहाँ बौलाउने छैनन् सुविचारीहरू
जहाँ उजाडिने छैन कसैको काख
जहाँ गुजारिने छैन भोको साँझ

मलाई यस्तो नेपाल हेर्न मन छ

जहाँ आइन्स्टाइनले जिन्दगीका सूत्र सिकाऊन्
जहाँ नाइटिङ्गेलले दयाभाव भाव फक्राऊन्
जहाँ एडिसनले जलाऊन् चेतनाको आगो
जहाँ न्युटनले खोज्नेछन् समृद्धिको बाटो

मलाई यस्तो नेपाल हेर्न मन छ

जहाँ भैरवहरूले हरेश नखाऊन्
जहाँ देवकोटाहरू राँची नजाऊन्
जहाँ साधक भोकभोकै मर्नु नपरोस्
जहाँ कलमको नीबबाट सधैँ आँशु नझरोस्

मलाई यस्तो नेपाल हेर्न मन छ

जहाँ सम्बन्धको अर्थ केवल स्वार्थ हुने छैन
जहाँ प्रेमको परिभषा व्यर्थ हुने छैन
जहाँ मदनले मुनालाई छाड्नुपर्ने छैन
जहाँ विछोडको वेदनामा रुनुपर्ने छैन

मलाई यस्तो नेपाल हेर्न मन छ

जहाँका जनताले सिंगापुरको सपना नदेखून्
जहाँ नेताले जनतालाई भेडा नदेखून्
जहाँ बिक्रीमा हुनेछैन स्वाभिमानको पोको
जहाँ हुनेछैन जो होचो उसको मुखमा घोचो

मलाई यस्तो नेपाल हेर्न मन छ

जहाँ सुदूरलाई राजधानी नजिकझैँ लागोस्
जहाँ सरकारलाई गरीव मान्छेझैँ लागोस्
जहाँ होस् जुम्लाको स्याउ इलामको कोशेली
जहाँ पिइयोस् इलामको चिया सुदूरमा उमाली

मलाई यस्तो नेपाल हेर्न मन छ

जहाँ नेपालखण्डे- नेपालवर्षे श्लोक बनून्
जहाँ निर्धक्कसँग सबैले हामी नेपाली भनून्
जहाँ कुनै वादले एकता तोड्न सक्ने छैन
जहाँ छिमेकीले पिल्लर फोड्न सक्ने छैन

मलाई यस्तो नेपाल हेर्न मन छ

जहाँ हिमालले तराईलाई सिँच्ने छ
जहाँ तराईले हिमाललाई बचाउने छ
जहाँ पहाडले बनाउने छ एकताको बाटो
जहाँ सबै मिली सम्याउने छन् समानताको माटो

जहाँ हरेकले गाउनेछ देशको गीत
जहाँ सबैले अनुभव गर्ने छन् जीत
जहाँ बग्ने छ नेपालीकै पसिनाको नदी
जहाँ एकठाउँ हुनेछन् सबै स्वाभिमानको लागि

मलाई यस्तो नेपाल हेर्न मन छ ।

गुल्मी