नवकिरण सबै ती छर्दछिन् नित्य राति
भव विचरण गर्दै भर्दछिन् भ्रान्तिमाथि
रविकिरण यहीँ नै गौण छर्थे प्रकाश
जलकिरण ‘अनुष्का’ छर्दछिन् यी प्रकाश । १।

सकल भुवनमा ती नाचदै रम्दछिन् यी
शरम सुपथमा यी नर्तकी बन्दछिन् ती
नरम नरम बाहू सुम्सुम्याई रमाई
मृदुल लवजको त्यो भावना मै बुझाई । २।

जब जब म अनुष्का देख्दछू स्वप्नमाथि
तब तब म रमाई स्पर्श कुर्थें शराबी
गगन सगरमा नै ‘सुन्दरी’ जन्मियो कि
नियतिवश अनुष्का ‘सुन्दरी’ भैदियो कि ? । ३ ।

कलकल झरनामा नीर बन्छन् रसीलो
हरपल सपनामा छिन् अनुष्का कलीलो
मगमग रस छर्छिन् ती अनुष्का सदैव
मन, तन सब हुन्छन् फक्रिएझैँ जवान । ४ ।

प्रमुदित अवनीमा पात यी फर्फराइन्
समुचित धरणीमा मात ती मुस्कुराइन्
हरबखत छ प्रेमी धारणामा अनुष्का
रति जति सब तिम्रै गीतमा बोक्छु सारा । ५ ।

नवरस सरिताझैँ भावमा पग्लियो कि
नवनिधि सविताकै सारमा अल्झियो कि
कविवर कवितामै भन्दथे नै ‘अनुष्का’
कलम सब स्वयम् नै लेख्दथे नै ‘अनुष्का’ । ६ ।

कलुषित मन सारा बन्दथे ती सराबी
प्रमुदित तन साह्रै बन्दथे नै बिरामी
ऋषिमुनि पनि आँखा खुल्दथे एक वक्त
ऋतु सब छवटा नै भैदिए ती वसन्त । ७ ।
छन्द : मालिनी
रस : शृङ्गार