धेरै हैन एकबार भई दिए क्या मज्जा
तिम्रो र मेरो प्यार भई दिए क्या मज्जा

अंगालोको डोकोमा तिमीलाई बोकी घुम्थेँ
जिन्दगी शनिबार भई दिए क्या मज्जा

हुन्थेन युद्ध यहाँ मनको न त मिसाइलको
प्रेमको हतियार भई दिए क्या मज्जा

तोडौँ दिवार बनाऔँ घर पहाड आँगन मधेश
सिमानामा काँडेतार भई दिए क्या मज्जा

समाई रहन्थे तिम्रा ती नजरका हतकडीबाट
त्यो मुटु कारागार भई दिए क्या मज्जा

आमा ! आउँदिन थिएँ बाकसमा बन्द भएर
गाउँमै व्यापार भई दिए क्या मज्जा

सरकारसँग जनता हुन्छ जहिले जहाँ पनि
जनतासँग सरकार भई दिए क्या मज्जा !

अग्नीशाईर कृष्ण-सवरण -४, सप्तरी