हिजोआज
गाउँघरका उर्वर जमिन
बाँझै देखिन्छन्
बाँझै भेटिन्छन्
मान्छेविहीन रित्ता घरहरू
कुपोषणले जिङ्ग्रिङ्ग छन्
जङ्गल बनेको छ आँगन
मान्छेका घरवासमा
हिँस्रक जनावरको आवास छ
उनकै रजगज, उनकै सहवास छ

विद्यालयका उदास कक्षा कोठा
विद्यार्थी आउने आशामा
बाटो कुरिरहेका छन्
थाहा छैन तिनलाई
अचेल युवा मनसँगै
युवा तन पनि बाँझा छन्
त्यसैले आउँदैनन् तिनीहरू
शिक्षकहरूका
प्राज्ञिक ऊर्जा खेर गइरहँदा
जाँगर मरेका छन्
उत्साहविहीन छन् तिनीहरू
जानेका छन् धेरै
तर अन्जान बनेका छन्

गाउँमा विकासको लर्को
गाउँ छाडेर शहर पस्नेको लर्को
पहाडबाट तराईतिर
बसाइँसराइको लर्को
विमानस्थलमा विदेशिने युवाको लर्को
यो लर्को
दिनहुँ बढ्दो छ
रोकिने लक्षण छैन
रोक्ने पहल छैन
रित्तिँदै छ देश बनाउने जनशक्ति
फगत बन्दैछ आश्रयस्थल
वृद्धवृद्धाको

खेतबारी उर्वर भएर के गर्नु ?
युवा मन बाँझै भए
युवा तन बाँझै भए
आफ्नो देशको मौसमी हावापानी बाँझो
परदेशको उष्ण मरुभूमि उर्वर भए
आशा मरेपछि
विदेशी भूतले छलेपछि
मन मस्तिष्कमा झार उम्रेपछि
गोडमेल गर्न नसकेपछि
मनका आँखामा पर्दा लागेपछि
मान्छेले
हराभरा धरती मरुभूमि देख्छ
मरुभूमि हरियो देख्छ
मातृभूमि पराइ देख्छ
परदेश आफ्नो देख्छ
बाँझो मनले
देख्नुपर्ने देख्दैन
देख्न नहुने कुरा मात्र देख्छ
युवा मन बाँझिएपछि ।

बगनासकाली ७, पाल्पा ।