
म जन्मन लागेको तर जन्मिनसकेको
कालिदाशको अवतार हुँ
एक बाल विधवाको सिन्दुर हुँ
आकाशले थुकेको बादल हुँ
हरेक प्रेमी कथाहरूको रोमियो जुलियट हुँ
म चाहन्छु मेरो मृत्युको शैय्यामा
कात्रो हैन
प्रेमिकासँग पुनर्मिलनको शुभसाइत निकालेको
पात्रो राखियोस्
मेरा लेख्न छुटेका
सेता कोरा कागजहरू राखियोस्
मेरालागि प्रेमिकाले लेखेको
पहिलो चिट्ठी राखियोस्
कल्पवृक्षको शितल छहारीमुनि बसी
म अन्तरीक्षको अनन्त ऋषिमुनि हुन चाहन्छु
म आफ्नो आयसँग
म आफ्नो आयु साट्न चाहन्छु
म प्रकृतिको वायुसँग
आफ्नो दीर्घायु साट्न चाहन्छु
म हरेक निर्दोष व्यक्तिलाई
वैतरणी तार्न चाहन्छु
तर
मलाई माफ गर अहिलेलाई
म विश्राम लिन चाहन्छु
म हरेक पुरुषहरूका लागि
स्त्रीको मुलायम छाती हुन चाहन्छु
म हरेक बलात्कृत बालिकाको
बलात्कारिक प्रमाण हुन चाहन्छु
म हरेक वेश्याहरूको
एकान्त हुन चाहन्छु
जुन धुनसँग
म घुन बनी गुन लाउन सकूँ
म ती हरेक खुनीको खुन बनी
पेश हुन चाहन्छु
म होशमा मृत्युसित हुन्छु
म बेहोसमा जीवनसित हुन्छु
म एकान्तमा सबैसँग हुन्छु
म सबैसँग हुँदा म सधैँ एक्लै हुन्छु
तर
मलाई माफ गर अहिलेलाई
म विश्राम लिन चाहन्छु
मैले कविताका छन्दसँगै
मैथुनको गन्ध भुलेँ
मैले परागको बास्नासँगै
शराबको बास्ना भुले
मैले आदिको अन्त्यसँगै
अनादिको अनन्त भुले
मैले स्त्रीको कोखसँगै
मिस्त्रीको शोख भुलेँ
वैमनश्यको जात्रामा पनि
मै मनुष्यको यात्रा तीर्थ धाम गएझैँ लाग्छ
श्रद्धालुहरूको श्रद्धा देख्ने भगवानले पनि
अर्धविकसित मुस्कानसँगै खुट्टा छोडेझैँ लाग्छ
म सोच्छु,
किन एक जीवन निर्जीवन ठडिरहेको मूर्तिलाई पुजिरहेछ ?
किन एक जीवन मन्दिरमा राम खोजिरहेछ ?
किन एक जीवन मदिरामा आराम खोजिरहेछ ?
किन एक जीवन आजीवन वासनामा विश्राम खोजिरहेछ ?
ऊ निर्जीवन खोज्न चाहन्छ
म जीवन खोज्न चाहन्छु
यी सबै खोज्नुपूर्व
म मेरा रहरका कान्लाहरूमा
दुई हल गोरु जोत्न चाहन्छु
तर
मलाई माफ गर अहिलेलाई
म विश्राम लिन चाहन्छु
म प्रेमको तीर्थधाम जान चाहन्छु
तर
मैले प्रेम जन्माउनुपूर्व नै घृणाले जन्मधारण गर्छ
म शान्त बुद्ध हुन चाहन्छु
दृष्टान्त जुद्ध हुन चाहन्छु
तर
मैले नास्तिकता जन्माउनुपूर्व नै
आस्तिकताले गर्भधारण गर्छ
ब्याज चपाएर रुनुभन्दा बरु
प्याज चपाएर रुनु उचित छ
बातहरूको न्वारन गर्नुभन्दा बरु यादहरूको सति जान उचित छ
प्रेमिकाका खुल्न लागेका तर खुली नसकेका रसाइला मुस्कानहरूभन्दा
मैले आफैँमा आफूलाई आफ्नो देख्नु उचित छ
मैले मरूभूमिमा बसेर कमलको फूल खोजिरहेछु
जुन सार्वजनिक ट्वाइलेटझैँ दूषित छ
त्यसैले म लगायत मेरो अन्तरआत्मालाई दश औँलाबाटै कोटी कोटी धिक्कार छ
मैले यो शहरमा
बैंशको रहरमा
मेरा यादहरूको सङ्ग्रहालय राख्नेसम्म ठाउँ पाइनँ
मैले तेरो अँध्यारो शहरमा लालटिनसम्म बेच्न पाइनँ
तेरो भरमा मेरो भविष्य सुरक्षित छैन सरकार
तेरा संविधानका धाराहरूले जनताको प्यास बुझाउन सकेन
यो शहरमा तेरो पार्टीको झण्डा र पार्टीका किंवदन्तीबाहेक मैले अरु केही भेटिनँ
तेरो शहरमा मेरो रहरको घर चल्न सकेन सरकार
यो शहरमा रहर हैन, कहर मात्र भेटियो
यो शहरमा विदेशिने युवाहरूको लहर मात्र भेटियो
त्यसैले म यो शहरको जहर खाएर विदेशिन चाहन्छु
तर
मलाई माफ गर अहिलेलाई
म विश्राम लिन चाहन्छु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

