
आमाको प्रशव पीडा
के थाहा मलाई ?
म अबोध नवजात शिशु
संसार हेर्ने खुसीमा चिच्यायाँ
च्यहाँ, च्यहाँ, च्यहाँ
मृत्यु जितेर आमाले परेली खोल्दा
बाबुले ऋणमाथि ऋण थोपरे
शिशुमा रमाए, सुत्केरी स्याहारे
म जन्मेस्वरुप राज्यलाई कर तिरे
संविधान पढ्न आउँदैन बालाई
ऋणले नै अक्षर चिनाए
साहुलाई खनखनी ब्याज तिरे
हरेक खरीदमा सरकारलाई भ्याट तिरे
मलाई राज्यको नागरिक बनाउन कर तिरे
बुहारी पक्को बनाउन कर तिरे
करैकरको बोझले बा गले
बालिग भएको नाताले
हिम्मतको वचन दियाँ
अब त, केही गर्नुपर्छ बा
मौन स्वीकृतिपछि
मैले बाको पसिना बेच्याँ
कर राज्यलाई तिर्याँ
किनकि म सच्चा नागरिक थियाँ
बाबु, आमा रोगी भए
स्वास्थ्य बीमामा दर्ज गरायाँ
गरी नसक्नु छ उपचार
राज्यले लिन जान्दछ दिन जान्दैन
बा दिनले हैन ऋणले झनै गले
थाप्लो भारी भयो
विदेशले सपना देखायो, ऋणले घुचेट्यो
पासपोर्ट खरिद गरें, कर तिर्याँ
रेमिट्रयान्समा कर तिर्याँ
आमा गलिन्, बा सधैंका लागि ढले
बालाई मरेको बनाइदेऊ न भन्याँ
अन्तिम कर लाग्छ भने
दिग्भ्रमित भयाँ
हरेक नागरिकसँग
राज्यले पाईपाई गनेर लिन्छ
फेरि सम्हालिएर सोच्याँ
राज्यले हामीलाई के दिन्छ ?
गुनासो धेरै छैन सरकार
जन्मन र मर्न त देऊ ।
सानो ठिमी, भक्तपुर



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

