निरर्थक हुँदैछ
हुरीको विरुद्ध
एक शब्दसमेत उच्चारण गर्नु !

टिकटक र सर्टसहरूमा
“म त ढलें ढलें…” भन्दै अचाक्ली मच्चिएको छ
चुनावी भोजभतेरहरू हुँदै
चेतना ब्ल्याकहोलमा खसेर
तदर्थ स्वादले मतपेटिका भरिपूर्ण छ
यौटा हुरी
‘देशमा केही छैन’ वाला झर्कोमा
विमानस्थलमा लर्को लागिरहेको छ

यस्तो हुरी
जो अग्ला अग्ला रुखका टुप्पामा
व्यर्थको बाँदरे रहर
उक्लेर हुल्लेसी खेलिरहेको छ

न उसको घर पता छ
न काम गर्ने कार्यालय पता छ

यौटा अद्भूत जोगीजस्तो
एकैचोटि एकैसाथ
यो डुलिरहेछ
मुकाम मुकाम
गाउँ गाउँसम्म
शहर शहरसम्म

यो हरेक तरुना तरुनीहरूको
घुँडाघुँडामा फाटिदिएको छ

कुनै भाग्यवादी मानिसको अगाडि
भिक्षा लिन
थपक्क बसेर
एकोहोरो
आफूले जाने जति आशीर्वाद
र भविष्यवाणी गरेजस्तो
प्रायजसो घरका ढोका र झ्यालहरूसँग
सम्वाद गरिरहेछ
र जतिसक्दो ऊ कमजोर बनाउन
खोजिरहेछ
जतिसक्दो ऊ झार्न खोजिरहेछ
रुख चढ्न नजान्ने
कुनै मान्छेले सिङ्गै रुख हल्लाएर
पाकेका फल झार्न
प्रयत्न गरिरहेजस्तो

वा कतै ऊ
यौटा छुच्चो मान्छेको अगाडि
भिखारीले आर्तनाद गरेझैं
रित्ता रुखहरूलाई हल्लाएर
खै के झारौं सोच्दो हो !

रिस त उठ्छ नि मलाई पनि
एक मुड्की बजारौं यसका गालामा
एक लात हान्दिउँ यसका पिठ्युँमा

तर यो
अदृश्य र निराकार भएर
कुनै अल्लारेझैं
सुसेली हाल्दै
दौडिरहेछ ।

धनगढी, कैलाली