कोराना भाइरस

अराजकताले नयाँ सामाजिक व्यवस्था जन्माउँछ
सपनाहरू पंक्तिबद्ध हुन्छन् चुपचाप
अपरिवर्तनीय भनिएका वस्तुको अगाडि उभिन्छन्—
घाम
जून
ताराहरू
र मानवमात्रको उत्साह !

उनी अतितीव्र आवाजमा चिच्याइरहेकी छिन्

खैरो छ उनको पोसाक
त्वचा हरियो
उनका केशराशिले कुर्कुच्चालाई अङ्कमाल गर्छन्
आँसुले रक्ताम्य उनका आँखा मसम्म आइपुग्छन्

मेरो गलाका स्वरतन्त्रीहरूले
उनलाई निष्काशन गरेर
कतै अन्तत्र जाऊ भन्न म सक्दिनँ
अतितीव्र ध्वनिमा चिच्याएर भन्न पनि सक्दिनँ—
पर जाऊ ! पर जाऊ !

म उनलाई
सिसा तोड्ने अनुमति दिन्नँ
मृत्युको भविष्यवाणी गर्न पनि दिन्नँ
महाआतातायी उनलाई
बरू म पिटिदिन्छु
बढारेर फाल्दिन्छु
र मिल्क्याइदिन्छु
संसाकै सँघारबाट, पर ।