१) प्रेस्क्रिप्सन

– मञ्जुल मितेरी

गोजीमा आफ्नो मृत्युको प्रेस्क्रिप्सन बोकेर
छिमेकीलाई अन्तिम मट्टी दिनका लागि
श्मशान दौडिरहेको
बस्तीको अन्तिम पहरेदार

भोको छोरो उठ्नुअगावै
एक छाक जोहोका लागि
जंघार तरेर बनिबुतो गर्न
एक्लै हिँडेकी एक बिरामी आमा

स-साना भाइबहिनीहरूका
भोकाएका हत्केलाहरूमा
आशाको थाली थमाउँदै
निदाउन नमानिरहेका ती अबोध आँखाहरूलाई
मीठा मीठा सपनाहरू देखाएर
पोहोर साल नै मुग्लान पसेको
एक बेपत्ता परदेशी

भ्रष्ट शासकहरू विरुद्धको अन्तिम लडाईं लड्न
विद्यालयबाटै घर नफर्किएको एक किशोर

आफ्नो फूलबारीमा कहिल्यै फुल्न नदिइएका
स्वतन्त्रताका फूलहरूलाई समेटेर ल्याउन
काँडाहरूको जंगल हुँदै गएकी एक चेली

प्रेमको पवित्र उडानका खातीर
ती दूषित मान्यताका पर्खालहरू भत्काएको निहुँमा
गाउँबाटै लखेटिएको एक पागल प्रेमी

असमानता र विभेदको मध्यरातमा
कठ्यांग्रिदो गाउँलाई एक्लै छाडेर
सुदूर क्षितिजको घाम टिप्न हिंडेको एक योद्धा

फर्केर आउछन् आउँदैनन् उनीहरू, खै !
मेरो गाउँ असाध्यै बिरामी छ ।

२) देश सम्झिनु नदिएकोमा

– विक्रम विस्तृत घिमिरे

मन त:
आफ्नै श्रीमतीलाई
सर्वोच्च अदालतको कठघरामा उभ्याएर
राष्ट्रद्रोहको मुद्दा हाल्नु छ
माई-लर्ड !

मन त,
देश सम्झिनु नदिएकोमा
आफैं न्यायधीश भै
आजीवन काराबासको सजाय सुनाउनु छ महोदय
मन त;
के के छ- केके छ नि हौ !

मलाई कति देश सुम्सुम्याउन मन लाग्छ
खेलाउन मन लाग्छ
उतै-उतै
लालीगुँरास टिपी डाँफे चरी जस्तै उडेर
केसाङ र डोल्माहरूलाई भेट्नु
हिमाल जान मन लाग्छ

किन भेटिएन तेलको कुवा ?
अभ्रखको खानी ?
युरेनियमको गोबर्द्धन पर्वत
किन छेकिएन सुनकोशीका सुन
चन्द्र र सूर्य झण्डा
फरफर फरफर गर्दै
किन बगेन नारायणी र कोशीमा पानी जाहाज ?
सोचेर एक छिन कावा खान मन लाग्छ
टोलाउनु मन लाग्छ
बौलाउन मन लाग्छ !

यसरी मन बाउँडिदा
उकुसमुकुस हुँदा
बीरेनूनले घोल्न नसकेको सातपत्रे
टीमुरले खोल्न नसकेको छिद्र
ठूलो ओखती, पाखम्बेत
काँचो सिम्रिक, शिलाजीत
यार्सागुम्बाले दिन नसकेको तराण
तो खुदीको पसिना, कोदोको तेल
घ्याम्पे भैंसीको मोहीले मिलिक्कै दिने हुँदा
यसो एकछिन
सेन्तेरेम हुन मन लाग्छ माइ लर्ड !!

दे पो !
मरिगए दे पो !!
बाङ्गा खुट्टा टेक्दै घर मन्टिए,
भाँचेर ओदान ततौँछु भन्ने उर्दीका सामु
करङमा सारङ्गी बजाउँछु भन्ने महान् वाणीका आगे
मेरो पञ्चकव्यजस्तो पवित्र जललाई
कुकुरको मुतसँग दाँजेपछि
मेरो देशप्रेम त्यहीँ तुरुक्क हुन्छ

विमुख गराइन्छ राष्ट्र भक्तिबाट !

दिनभरि त आङ् खसेकी आमाको ओखती
दमका रोगी बाको आयुर्वेद
भुईंपुतलीको टिफिन खाजा
स्कूलको फीसखर्च
कापी कलम
उस्की आमाको श्रीमदभागवत
नूनतेल, मेथी, जीरा मसलाले केही सम्झिन दिँदैन
र एकछिन भट्टी पसौँ
अनि…

अनि,
रानाकालीको मैलो हातले छानेको
अमिलो छ्याङ तानेर
प्रदेशको राजधानी तोक्दै
संविधानका त्रुटि खोज्दै
तीन त्रीलोक चौधभुवन
सबैलाई मुख्यमन्त्री, आआफ्नो जात राज्य
पूर्वपश्चिम रेल
स्मार्ट सिटी
कंग्रेसलाई प्रतिपक्षमा बस्नुको पीड़ा
माओवादी -एमाले मिलन बिन्दु
सीकेलाई कति फुट मुख भको मधेश
विप्लवलाई कस्ले दियो बम पड्काउने आदेश

राष्ट्रपतिको सवारी र जाम
धुर्मुसेको किर्केट ग्राउन्डको तामझाम
सबैको
गम्भीर चिन्तन गर्दै
शेरबहादुरको बुराईमा
प्रचण्डको भक्तिभावसँगै
ओलीको आरति गाउने कत्रो रहर ‘थ्यो
दे पो !
मरी जाउँ दे- पो !!

त्यसैले देश सम्झिनु नदेकोमा
आफ्नै छोरीकी आमालाईअगाडि राखेर
बिहे दर्ता र नाता प्रमाणित सँगै राखेर दाँज्नु मन लाग्छ !

खुइया गर्दै बार्दलीमा
हाई काढ़ेर
एक टकले मरापाचेको भट्टी हेर्दै
गाँस, बाँस, कपास र सहबासलाई
मरुन्जेल सराप्न मन लाग्छ
छिरिक्क !
देश सम्झिन नदेकोमा…..!

३) एउटा पहाड

– विनय सरगम

शिरमा सेतै बुकिफूल फुलाई
घाम सँगसँगै उभिन्छ
– एउटा पहाड

यो पहाडको अनुहार
गोरेटोहरूले-पोखरीहरूले
चौतारीहरूले
सजिएको छ

यो पहाडको गोरेटोहरूमा
ओहोरदोहोर गरिरहन्छ
समयको कुर्कुच्चाहरू

यो पहाड
चुपचाप चुपचाप-फुलाइरहन्छ फूलहरू
चिरिरहन्छ छाती-लुकाइरहन्छ ठेस
बनाइरहन्छ बाटो-हिँडाइरहन्छ यात्री
बगाइरहन्छ नदी-मेटाइरहन्छ प्यास
बहाइरहन्छ हावा-हम्किरहन्छ शितल

यो पहाड
घाम सँगसँगै हिँडिरहने
पानी सँगसँगै रुझिराने
एउटा समय हो

निदाउनुअघि
आफ्नै पाखुराको सिरानी लाएर
सुतिरहेको यो पहाडलाई सोध्न मन छ
पहाड-कस्तो सपना देख्छ “बा”।

४) त्यही शहर त्यही ठाउँ

– कुशल न्यौपाने

तिमीले अकस्मात सोधेकी छ्यौ
“म वेश्याजस्ती देखिन्छु र?”
यस बेला
म देखिरहेछु
भुइँको ढुङ्गे पेटी झिकिएर इँट्टाको भएछ
यो गल्ली पोहोर रातभन्दा अझ ओसिलो भएछ
यो ओसिलो गन्धमा के छ?
हराउनुको याद?
विषादको यात्रा?
कि स्वतन्त्रताको एक्लोपन?

वेश्या देखिनु कस्तो हुन्छ?
चञ्चल कि गम्भीर?
उत्सुक कि हतास?
बेफिक्र कि अबोध?

कति रमाइलो भएछ यो ठाउँ
जस्तो कोलाहलको शहरभित्र एउटा उदास गाउँ
जस्तो परिचित गाउँभित्र एउटा दूरको शहर
जस्तो अर्धउज्यालोका छायाहरूले बनाएको एउटा मैलो ऐतिहासिक चित्र

तिमीसँगै हिँडेर पनि तिमीसँग भएनछु क्यारे
र किञ्चित् डरले टाँसिएर कुहिनाले सोधेकी छ्यौ फेरि,

हुनसक्छ,
थियौ आशाको मैदानमा अविश्रान्त
उफ्रँदै हिँड्यौ उत्सुकताका गल्लीहरू
नाचेर बितायौ अबोध वर्षहरू
देख्यौ सफलताका चञ्चल सपनाहरू
फुर्किदियौ एक-एक डल्ला मिश्रीहरूमा
र, उनीहरूले तिमीलाई वेश्या भनिदिए

अथवा हुनसक्छ,
क्लान्त बनायो अविश्वासहरूले
खसालिदियो भर्‍याङबाट भरोसाले
निर्मम उपेक्षाहरुले घोचेर/
माथि हेर्ने धुरीले थिचेर/
थङ्थिलो भएको ज्यान लतारी हिँड्यौ
जाउँ कि बसूँको दोधारमा अल्मलियौ
बेचौँ कि बाँचौँको दोसाँधमा उभियौ
अलिकति अपेक्षा र अलिकति उदासी बोकेर जिन्दगीको पेटीमा चुपचाप उभिएकी थियौ
र, कसैले तिमीलाई वेश्या भनिदियो

जे पनि हुनसक्छ
भूत, वर्तमान वा भविष्य
हुनसक्छ म एकोहोरिएको बेला
कसैले मेरै साथमा हुँदासमेत दियो घिनलाग्दो इशारा
र पिच्च थुक्यौ तिमीले आफ्नै खुट्टामा पर्नेगरी

तर म भने सोचिरहेथेँ
यत्तिको ठाउँ सबैतिर हुनुपर्छ
हरेक शहरमा हुनुपर्छ
हरेक गाउँमा हुनुपर्छ
अलिकति एकान्त हरेकको भाग लाग्नुपर्छ
हर-एकलाई रुन पुग्ने/हराउन पुग्ने एकान्त नभएको ठाउँ पनि के ठाउँ !
इँट्टामा परावर्तित प्रकाशले घुर्म्यौलो बनाएको यो ठाउँ कम्ता मनमोहक लागेको छैन मलाई- यो पीत ठाउँ !

तर तिमीलाई यहीँ कसैले वेश्या महसुस गराएको छ– यो पतीत ठाउँ !

आखिर के फरक पर्छ ठाउँले
के फरक पर्छ शहरले वा गाउँले
सपना पछ्याएर निर्धक्क उड्नेलाई जे भने पनि के फरक पर्छ?

के फरक पर्छ
जिन्दगीदेखि थकित पाइला- चले पनि रोकिए पनि
उपस्थितिदेखि आजित घर – भए पनि नभए पनि
थकित-थकित झैँ
मलिन-मलिन झैँ
हतास-हतास झैँ
भयभीत अनुहार
र समयको बलेसीले निरन्तर चुटेको जीर्ण कायालाई जे भने पनि के फरक पर्छ ?

तिमी वेश्या हौ भनिदिने पनि मै हुँ
तिमी वेश्या हैनौ भन्ने पनि मै हुँ
मेरो प्रमाणीकरण खोज्नुपर्ने हो तिमीले यदि भने
मेरो साथमा तिमी जहाँ गए पनि के फरक पर्छ ?
तिमीलाई मैले जे भनिदिए पनि के फरक पर्छ ?

तर यत्रो मौनतापछि पनि
अबोध अनुहारले उत्तर मागिरहेकी छौ
“म वेश्याजस्ती देखिन्छु?”

५) बूढो समयसँग

– जीवन आरोही

सुस्तरी
वसन्तअघि हाँगाहरूको हत्केलाबाट छुटेको
पहेला पातहरू झैँ
दिनानु दिन छुट्दै गइरहेछ जिन्दगीको अंकगणित
खस्दै जान्छ विरहको आँशु जसरी
समयको पदचाप
शायद तिमी पनि खस्ने छौ कतै
जीवनका किनाराहरूमा
जसरी खस्छ तिम्रो ओठबाट फिक्का फिक्का मुस्कान

नसोच…
कसरी खस्दै गइरहेछौ
आफ्नै अनुहारको आलीबाट ?
वा पातहरू खसेको नाङ्गो रूख झैँ
कतिदिन पछि नाङ्गो बन्छ तिम्रो कुरूप अनुहार ?
कुन बेला ठप्प रोकिन्छ
अप्ठेरोमा बजिरहेको तिम्रो पैतालाको सङ्गीत
र सुनिन्छ तिम्रो ओठबाट सिर्फ कर्कश चित्कार ?
बरू सम्झनु एकान्तमा…
कस्को हो
अँधेरीमा तिम्रो पाइतालामुनि
गुलाफ राखिदिने हत्केला ?
वा बेहोशीमा पनि जतन साथ तिम्रो लागि मुस्कान राखिदिने
गुलावी ओठ कसको हो ?
थाहा छैन मेरो सामुन्ने…
तिमीलाई नै सम्झँदै बाडुल्की बोकेर
कहाँबाट आइरहेछ साँझमा
यो बतासको जुलुस ?

तिमी
हत्केलामा बाँधेर आफ्नै मुटु
तिम्रो दिमागको क्षितिज चढिरहेछौ
थाहै हुन्न
कतिखेर भत्केला तिम्रो पैतालाको डोब
र काँडाहरूले बिझाउला
हातमा बोकिहिँडेको
गुलावी ढुकढुकी !

जो दोबाटोतिर
बाँड्दै हिँड्नको लागि होइन
छातीमा सजाउनको लागि बनेको हो ।

६) चरिसो फूल

– सीता तुम्खेवा

आमाको वेदना बुझ्न
आफैँ आमा बन्नुपर्ने रहेछ नाना !

बल्ल बुझ्दैछु—
घरिघरि किन धाउँथ्यौ तिमी दुम्सीपहरा ?

कहिलेकाहीँ बिहानीको झुल्के घाम
र साँझको पहेँली घाममा
दुम्सीपहरा र हाङ्नामे भिरमा गुञ्जिने
एकै नासे आवाज
गोठसम्म आइपुग्थे—इयाँ ! इयाँ !!

मलाई लाग्थ्यो—
भोकाए होला कि !

म पुग्थेँ भीरनजिकै
आइपुग्थ्यौ तिमी पनि
हेर्दै ओडारको कोक्रोतिर
रुन्थ्यौ बेस्सरी र हुन्थ्यौ बेहोस

भीरमाथिको चरिसो फूलबारी वरपर
कुनै भर्खरै निदाएजस्ता
कुनै भर्खरै गिद्दले लुछेजस्ता
कुनै कङ्काल मात्रै बाँकी हुन्थे
कोपिलामै झरेका फूलहरू
आ–आफ्नै कोक्रामा

मुन्दुम भन्थ्यो–
‘नटिप्नू चरिसो,
उनीहरू खेल्ने फूलबारी हो’
तर म टिपेर सिउँरिन्थेँ चुल्ठोमा

आज—
जङ्गलभित्र ढुङ्गाको सिरक ओडेर
सुतिरहेको मेरो छोरा
ब्युँझिएर निसास्सियो कि– लागिरहन्छ
आमा ! आमा !!
मलाई नै पुकारिरहेको छ कि– लागिरहन्छ

सत्य,
आमा भन्नु त धरती रहेछ
जो सृष्टि गरिरहन्छिन्
जितेर पनि आफ्नै मृत्यु

आज आफैँले बुझेँ नाना !
आमाको वेदना बुझ्न त
आफैँ आमा बन्नुपर्ने रहेछ ।

७) आदत

– रिमा के.सी.

खतरनाक हुन्छ आदत
हिरोसिमामा खसाइएको बमभन्दा पनि खतरनाक !
आत्मघाती हुन्छ
आतंकवादीले शरीरमा लुकाएको ग्रिनेडभन्दा पनि
अनि कहिले त
विश्वासघात बनेर
आफ्नै प्रेयसीले धस्ने छुरा बन्छ आदत !

फेरिन्छ गते, महिना र साल
फेरिन्छन् पात्रहरू
र पनि, उस्तै हुन्छ समयको आदत

हरेक चोटी आन्दोलनको आँधी उठ्छ,
र, एक मुठ्ठी उज्यालोका लागि
स्वप्नद्रष्टा निभाउँछन् जीवनको दियो
जसै थामिन्छ आँधी
आफूलाई हिउँभन्दा सुकिलो दाबी गर्ने एउटा नेता
सडकबाट दरबार पुग्छ
अनि बनाउँछ देशलाई तबेला
उस्तै छ उसको सत्ताको आदत
अनि, जनतालाई पनि लागिसकेको छ
आजित हुनुको आदत !

उफ् !
रगत बेचेर रक्सी किन्ने बानीमा छन् मान्छेहरू
सपना बेचेर आँखा किन्न अभ्यस्त छन् तन्नेरीहरू
आँशु बेचेर सुपरमार्केट ठड्याउने योजनामा छन् व्यापारीहरू

दुर्घटनाको खेती गर्ने आदतमा छन् सडकहरू
मेरो विश्वासको आँगन बारम्बार मिच्ने आदत छ छिमेकीको
बाँझोपन उमार्ने आदतमा छन् खेतबारीहरू
बलात्कारको चीत्कार सुन्ने लती भएका छन् कानहरू

ड्रगिस्टलाई दुर्व्यसनको आदतजस्तै
लगाम बनिदिन्छ आदत
दासताको आदत !
बेइमानीको आदत !
चाकरीको आदत !
धोकाधडीको आदत !
लुटको आदत !

खासमा मानिसलाई मस्तिष्कले होइन
उसको आदतले चलाइरहेछ

यहाँ आदतको जन्जीरमा घुमिरहेछन् मानिसहरू
जिउँदै मर्नुको आदतले अभिशप्त छन् जिन्दगीहरू
खरानीको लागि आफ्नै घर जलाउने मुर्खझैं
आफ्नै आदतको दावानलमा
जलाइरहेछौं आफ्नै वर्तमान

कतै आदतको क्रूर निशानाले
सिध्याउने त हैन हाम्रा सपना !?