
म एक
हिंसा भड्काउने मान्छे हुँ
हो साँच्चै नै, म एक असामाजिक व्यक्ति हुँ
तिमी आफू एक्लैले निर्माण गरेको
तिमी मात्रैले स्वीकार गरेको
‘मिलिजुली बसेको समाज’मा
जातीय हिंसा भड्काउँदै हिँड्ने
एक हिंस्रक मानव
सारा जीवन सियो र धागोले
दश ठाममा प्वाल परेका
तिम्रा झुत्रे कपडाहरू टाल्दाटाल्दै
तिम्रा इज्जतलाई जोगाउँदा जोगाउँदै
मेरै इज्जत र आत्मसम्मानको धज्जी उडेको
पत्तै पाइनँ
तिम्रो कुरूप खुट्टामा सुन्दरता छर्ने
तिम्रा कठिन यात्राहरूमा सहजता भर्ने
तिमीलाई हरबखत पहरा दिइरहने
तिम्रा जुत्ता र चप्पलहरू बनाउँदा बनाउँदै
मेरै पाउमा काँडा बिझेको
पत्तै पाइनँ
आरनमा राँकिएको कोइलाको रापमा
चट्टानभन्दा पनि कडा फलाम पगालेर
तिम्रा औजारहरूमा आकार भर्दाभर्दै
तिम्रा दैनिकीहरूलाई सहज बनाउँदा बनाउँदै
आफैँ नै आकारविहीन भएको
पत्तै पाइनँ
तिमीसँग प्रत्येक बिहान जम्काभेट हुने
गारेटो र डोरेटोहरू,
मेरा पाइला पर्दाबित्तिकै बिटुलो भइजाने
तिम्रा फोहोर बाटोहरू सफा गर्दागर्दै
आफैँ फोहोरमा गाडिएको
पत्तै पाइनँ
तिम्रो भोको पेटलाई शान्त पार्न
बाँझो जमिनमा
दिनदिनै हलो र गोरूसँगै
धस्सिँदा धस्सिँदै
मेरो आफ्नै जीवन नराम्ररी भासिएको
पत्तै पाइनँ
अपमानको सिङ्गो पहाड
मेरो टाउकोमा थुपारिँदासमेत
तिम्रो मलमूत्र सोह्रे
वान्ता फर्किने सिनो फाले
तिम्रो दास भई बसेँ
तर
म माथिको जातीय उत्पीडन र हिंसाले
शताब्दीऔँको समय पार गरिसक्दा समेत
तिमी आज पनि
म आफैँले उनेको
तिम्रो इज्जत ढाक्ने ती लुगाहरूलाई
म आफैँले तुनेको
तिम्रा शोभा बढाउने ती जुत्ताहरूलाई
म आफैँले आकार भरेको
तमाम औजारहरूलाई
म आफैँले बढारेर सफा पारेका
ती बाटोहरूलाई
र
मेरै खुन र पसिनामा लतपत्तिएको
त्यो माटोको सुगन्धलाई
मबाट टाढा राख्न खोज्छौ
अनि
शुद्धीकरण गर्न
सुनपानी
आगो र कोइला
धुपबत्ती हातमा लिएर
आफ्ना पाइलाहरू
म र मेरा सिर्जनाहरूतिर अघि सार्न थाल्छौ
तब मेरो कन्पारो तातेर आउँछ
शरीर भरिको रगत
एकै झट्कामा टाउकोमा गएर थुप्रिन्छ
नशाहरूमा बगेको रगत उम्लिएर फुट्लाझैँ हुन्छ
भाउन्न बनाउँछ
र एकाएक
म पागल हुन पुग्छु
मलाई मानव होइन
हिंस्रक जनावर जस्तो हुन मन लाग्छ
र तिमीमाथि झम्टिएर लुछ्न मन लाग्छ
मलाई शान्त होइन
क्रोधित व्यक्ति हुन मन लाग्छ
र त्यही क्रोधको बलमा
मेरो छाया पर्नेबित्तिकै श्रापित हुने
तिम्रो पवित्र बस्तीमा गएर
आगो लगाइदिन मन लाग्छ
मलाई धैर्यवान होइन
हर क्षण अधैर्य र छटपटीले
भरिएको मान्छे हुन मन लाग्छ
र त्यही छटपटीको आडमा
तिम्रो मिलिजुली बसेको समाजमा
अशान्ति मच्चाइदिन मन लाग्छ
त्यसैले
तिमीले बुझेको ठीकै हो
म एक
हिंसा भड्काउने मान्छे हुँ
हो साँच्चै नै, म एक असामाजिक व्यक्ति हुँ
तिमी आफू एक्लैले निर्माण गरेको
तिमी मात्रैले स्वीकार गरेको
‘मिलिजुली बसेको समाज’मा
जातीय हिंसा भड्काउँदै हिँड्ने
एक हिंस्रक मानव ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

