यसो त म अग्लो देशको मान्छे
हरपल, हरक्षण
हरमौका, हरअवसर
आँखा वरिपरि
मन र मुटुभरि
सगरमाथा नाचिरहन्छ

यतिबेला भने,
यो साहसको धरोहर
शूरता जगमगाएको माटो
वीरता उम्लिएको भूमि
सिन्धुलीगढीमा उभिएर
इतिहासको त्यो रङ्गीन क्षितिजलाई नियाल्दा
फेरि एकपटक अग्लो महसुस गरिरहेछु

देश प्रेमले छपक्क भिजेको प्रकृति
शत्रुप्रति हुङ्कार ओकल्ने हिम्मत
के छैन र यहाँ !
केवल अनुभूतिको खाँचो न हो

लाग्छ वीरभद्र उपाध्याय
यतै कतै बसेर
किल्ला र सीमा रक्षाको
भावि रणनीति बनाउँदै छन्
वन्शु गुरुङ र अरू योद्धाहरू
जोस र उत्साह सँगाल्दै छन्
मलाई भने यो समय
तिनै योद्धाले हतियारमा साँध लगाएको
कुनै च्याप्टो ढुङ्गामा बसी
हाकपारे भाकामा
मेची-कालीको गीत गुन्गुनाउन मन लागेको छ

म बाँचेको स्वाधीन युग
पुर्खाप्रति नतमस्तक र
भावि सन्ततिप्रति समर्पण गर्दै
वैरीका ओठमा खिल गाढेर
स्वजनका लागि जीवन उत्सर्जन गर्ने
निर्दोष तर परिश्रमी
तिनै माहुरीका वंशजसँग
प्रीत गाँस्न मन लागेको छ

ऐतिहासिक अनि शौर्य यो आँगनबाट
इतिहासको त्यो पलप्रति
आफूलाई सुम्पिएर मुस्कुराउँदै गर्दा
निन्याउरो मुद्रामा ओरालो झर्दै गरेका
सातो गुमाएर फत्रक्क गलेका
निरुपाय किनलकलाई खोजिरहेछु
शत्रुता भावले ओतप्रोत
उनको चुरीफुरी पनि
झल्झल्ती सम्झिरहेछु

फेरि पनि,
इतिहासको त्यो जोसिलो समय
सापटी लिएर
सिन्धुलीगढीको माटो समाउँदै
चिच्याएर भन्न मन लागेको छ
ए ! गिद्देदृष्टिवाला आधुनिक किनलकहरू हो
मलाई मेरो देश असाध्य प्यारो लाग्छ
नेपालीको देशप्रेम
तिम्रो तोपभन्दा सैयौंगुणा बलियो छ ।

उसै त म
पराधीनता नस्वीकार्ने देशको
स्वाभिमानी मान्छे
नसा-नसामा
युग-युगसम्म
तातो-रातो स्वाभिमान बहिरहने छ
तातो-रातो स्वाभिमान उम्लिरहने छ ।

हाल: सूर्यविनायक-५, भक्तपुर