विषमताको बाँझो फोर्दै
सपनाको सुन्दर फूल रोप्न
जीवनभर हिँडेको बाउसे म ।
एकदिन,
आफ्नै धुन गुनगुनाउन लागें ।

सिँगारें–
आस्थाका सुनौला प्रतीकहरूले
बिम्बका चम्किला सिताराहरूले ।

बादल अनि इन्द्रेणीहरूले,
सन्ध्या अनि बिहानीहरूले,
उकाली अनि ओरालीहरूले,
समयका असंख्य तरेलीहरूले ।

कवितालाई निखार्न
मैले, कुनै पनि कसर बाँकी राखिनँ ।

सृजनाका नवीन सीपहरू कुँदें,
अलंकारका झलमल्ल बुट्टाहरू कोरें,
सौन्दर्यका विविध रंगहरू पोतें ।

सुसाएँ– संघर्षका सुसेलीहरू,
सजाएँ– सुखान्तका कोसेलीहरू,
फुकाएँ– दुखान्तका नागवेलीहरू ।

अन्ततः
मेरो कविता,
भोगाइका सुन्दर प्रतिबिम्ब बन्यो ।

कविता पढेर,
चोक चोकमा ठेला गुडाउदै
गुजारा गरिरहेका
अर्धबैँसे दाजै आए–
र दावी गरे दुखको पसिनामाथि ।

निधारमा
हन्डरका खोल्सीहरू बोकेर,
बूढी आमा आइन्
र मागिन् कविताका सुस्केराहरू ।

नदिले रोज्यो किनारा,
शिशुले निर्दोष मुस्कान,
कलाकारले रूचायो संवेदना,
व्यथितले माग्यो भरोसा,
इतिहासको बाँझो खार्ने
मजदुरले खोज्यो दुखको भर्पाइ ।

चिन्तकले कविताको दर्शन,
संगीतकारले समयको धुन,
कवि र गाइनेले शैली र लय,
प्रेमीले समर्पण,
लगे आफन्तले मिठो संझना ।

उसैको नासो भन्दै,
नेताले माग्यो उज्यालो,
ईश्र्यालु र शत्रुले लिए खुसी,
चिहानबाट उठ्दै
प्रतिगमनले माग्यो स्वतन्त्रता ।

जो जससंग सम्बन्धित थिए,
सबै लिइगए
एकएक संवेदी हरफहरू ।

कवितामा
नितान्त मेरो भन्नु केही थिएनछ,
मेरो कविता
केवल
सामूहिक आवाजको गीत रहेछ ।

तर,
सिङ्गो कविता सिद्धिएर पनि
मलाई रत्तिभर पछुतो थिएन,
किनकि,
रित्तिएर पनि म
सबैको अंश बनेको थिएँ ।