अचेल ‘गाउँ’ अक्षरको बाढी आएको छ
बजारवादीहरु शब्द /भाव, वाह — ! –वाह –! गर्छन्
मिठासले भरिपूर्ण छ /भन्छन्
फोसिल बनौट कोही देख्दैनन्
ऊ भने आफ्नो,
आफ्नै स्वरूप नपाएर बैराग छ

गाउँ, गाउँले नपाएर निरस छ
एकदिने पर्यटकले दिक्दार छ
गाउँ हुन गाउँ नै आउनुपर्छ शहर समेटेर
अचेल गाउँ, कविको अक्षर रङभित्र हराएको छ
कथाकारको क्यानभासमा बिलाएको छ
जति उपख्यान कुँदे पनि, जस्तो सचित्र उतारे पनि
बिना जीवन बाँच्न सक्दैन गाउँ
गाउँ, गाउँ बन्न गाउँले नै चाहिन्छ

बाटो छ, हिँड्ने बटुवा छैनन्
धारो छ, कोही प्यासा छैनन्
विद्यालय छ, पढ्ने बालक छैनन्
बत्ती छ, उज्याला सन्तान छैनन्
कसलाई सुनाउँ यो व्यथा,
कसले पढ्छ उसको कथा ?
यो पश्चगामी सिद्धान्त —!

र पनि,
भोलि, एक मुठी सास खोज्न परे
गाउँ खोतल्नु परे, मलाई सम्झनु
म गाउँ मै छु / गाउँले नै छु
गाउँलेको माया किन्नु पर्दैन प्रिय —!