छ्या, तिमी त कस्तो बाइ
देशमा रहुन्जेल, देशको मायै नलाग्ने
विदेशी भएर पनि देशलाई सताउने

तिमी नै हैन, मलाई ढुंगामूढा गर्न उक्साउने
जिन्दाबाद मुर्दाबाद भन्दै
बाटोमा टाएर सल्काउन लगाएर, आगो तपाउने
एम्बुलेन्सलाई पनि छोड्ने होइन,
ठोक तेस्लाई, भन्दै उर्दी लगाउने

छ्या, तिमी त कस्तो बाइ
विदेश पुगेपछि पनि देश नोछोड्ने
हामी नेपालीलाई तोड्ने, फोड्ने, आफैँतिर मोड्ने

तिमी नै हैन, भिन्न भिन्न जात अनि धर्मको विरोध गर्ने
दौरा सुरुवाल र टोपी दिवसको भजन गाउँदै
धोती गम्छा, हाकु पटासी, घलेक र श्यादेको विरोध गर्न सिकाउने
नगरे, गाउँ नै उठिबासको धम्की लगाउने
सारा दुःखीगरीब, भाषाभाषीलाई अत्त्याउने

छ्या, तिमी त कस्तो बाइ,
एउटा भाषा, भूषा, एउटा संस्कृति र धर्मको मात्र पक्षपोषण गर्दै
आफू मात्र बाँच्ने, कमाउने, देशको भाँडभैलोमा रमाउने ।