
(कवि शिरोमणि लेखनाथ पौड्यालको १४२ औं जन्मोत्सवको पावन अवसरमा दुर्गा शैक्षिक गृह, सियारी रूपन्देहीद्वारा आयोजित अन्तर विद्यालय जिल्लास्तरीय कविता लेखन तथा वाचन प्रतियोगिता-२०८१ मा प्रथम स्थान हासिल गर्न सफल अर्नव पौडेलद्वारा रचना गरीएको कविता हो।)
– अर्नव पौडेल

अर्नव पौडेल
समयले कालखण्डको
कुनै युग बोलिरहेको बेला
मेरो देशमा
भालेका बाससँगै
हरेक बिहान
खेतका गरामा
खुल्दथे व्यायामशाला
जहाँ कर्मशील हात
अनि ऊर्जावान काँधहरू
लागि परिरहन्थे हिरा फलाउन
र
सुनकिरा टिप्न
अक्करे भिरहरूमा ।१।
तिनै ताका ,
अगेनाका डिलमा बसेर सिकाइन्थ्यो
कर्मको गीता
सीपको सिद्धान्त
अर्मपर्मको हर हिसाब
पारिवारिक जीवनको दर्शन
अपनत्वको मूल्य
र पढाइन्थ्यो
सबैभन्दा पहिले
जननी जन्मभूमिश्चको मनोविज्ञान ।२।
तीनै ताका
सयौं माइलको यात्रामा पनि
थाक्दैनथे पाइलाहरू
अलिअलि अभावको नुनिलो भए पनि
समयसँग पौंठेजोरी खेलेरै
फूल्दथे सुनाखरीहरू
र पनि रमाउँथे
सन्तोषको मीठो लयपूर्ण जिन्दगीमा ।३।
तर
आजभोलि
हजुरबुबा, हजुरआमा
अगेनाको डिलमा राखेर
आफ्ना नाति नातिनालाई
आफ्नै हातले खुवाउन चाहन्छन्
बुबुमाम, खट्टे र मीठो तिहुन
अनि
सुनाउन चाहन्छन् रामायणका मीठा कथा
त्यस भित्रको देशप्रेम र पितृभक्ति
र बनाउन चाहन्छन्
तेजस्वी र स्मरणशील सन्तति
जसले आफ्नो परिवार र मातृभूमि कहिल्यै नबिर्सियोस् ।४।
तर अफसोस
आज समयले अर्को तन्ना फेरेको छ
अझ खारिएर सिद्ध हुँदैछन्
डार्विन र लामार्कका सिद्धान्तहरू
उत्परिवर्तन भएको छ
हाम्रा सन्ततिको मनोविज्ञान
क्रोमोजममा थपिएका छन्
टोफेल, स्याट र आएल्ट्सका नयाँ प्रोटिनहरू
र पो त
गोडाले टेक्नुभन्दा पहिल्यै
सिक्दैछन् पखेटा चाल्न
र
पुग्न दूर क्षितिज ।५।
अब यहाँ बन्द गरिनु पर्छ
हरेक दिन मञ्चन हुने
गाईजात्राका नयाँ नयाँ शृङ्खला
सधैंभरि भइरहने
हिलो छ्यापाछ्याप र खुट्टा तानातानको पर्व
त्यागिनु पर्छ
कुर्सी र देवत्वकरणको लालसा
तोडिनु पर्छ हाम्राहरूको किल्ला
र मिलिभगतका जुगलबन्दीहरू
रोकिनु पर्छ
बौद्धिक पलायनको कहालीलाग्दो तथ्यांक
अनि गरिनुपर्छ
श्रम र सृजनाका मूलहरूको प्राणप्रतिष्ठा
सीप र प्रविधिको निर्यात
र हुर्काउनु पर्दछ
असल राजनीतिक संस्कारको खेती ।६।
र अब यस्तो होस्
आउने दिनहरूमा
हाम्रा हरेक सन्ततिले
मातृभूमिको चन्दन
पसिनाले भिजाएर
लगाउँदा निधारमा
अनुभूत गरिरहुन् सुगन्धी वासना
भेटिरहुन आनन्दी वैभव
अनि मनभरि फक्राइरहुन्
जाइ, जुही र लालीगुराँसहरू । ७।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

