
माटो बीज बनेर भर्छ धरणी, मौलिन्छ जीवन्त भै
जन्मिन्छन् अनि पञ्चतत्व जसले श्रृंगार भर्छन् अझै
यो उत्पत्ति विकासको क्रम अझै चल्नेछ चल्दै थियो
यौटा वृत्त विशाल ,अंश रविको, सन्सारमा बद्लियो
उल्का पिण्ड हजार वर्ष पहिले आकासमा देखियो
बढ्दो वेग लिएर सूर्य पथमा घुम्दै थियो,ठोकियो
आगोझैं बल गर्जियो, गगनमा विस्फोट चर्को भयो
चारैतर्फ फुटेर सूर्य, कणझै आकासमै फैलियो
फुट्दा सुर्य, हजार सूक्ष्म रुपमा कैयौ टुटे टुक्रिए
मिल्दै एक अनेकका, नजिकमा आकासमै तैरिए
विस्तारै स्वगुरुत्व शक्ति बलले आकार मिल्दै गयो
छुट्टै कक्ष र सौर्यमन्डल हुदै, आकाश गंगा भयो
चर्को राप बढेर तेज यसको चौतर्फ नैं गर्जियो
तातो बाफ गल्यो, र बादल भयो, गर्जेर त्यो बर्शियो
विस्तारै जब बाह्य भाग यसकाे सेलाउँदै, तैरियो
आफ्नै एकल वायुमण्डल नयाँ आकाश भै फैलियो
माटो जीवन योग्य ,उर्वर भयो, प्रारम्भ निर्माणको
थुप्रै भिन्न विकास ,जीवन भयो प्राणी चरा जीवको
विस्तारै, जनभावना हृदयमा ,संवेग बन्दै गयो
यौटा वृत्त, विशाल अंश रविको, सन्सारमा बद्लियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

