एकदम शून्य छ रङ्गमञ्च
देखिँदैनन् कुनै पात्रहरू
चलमलाउँदैनन् उज्यालाका धर्साहरू
बिल्कुल अँध्यारो छ वरिपरि
र म एक्लै छु दर्शकदीर्घामा
लाग्दै छ,
‘गाउँदेखि कोसौँ टाढाको मसानघाटमा
एक्लै उभिएको छु
ठीक यो समय
औँसीको मध्यरात हो
र आकाश पनि पूरै धुम्मिएको छ ।’

अचानक–
दायाँतिरबाट चित्कार आउँछ
बायाँतिरबाट अट्टहास आउँछ
सिधै अगाडिबाट
गुहार मागिएको आवाज आउँछ
पछाडिबाट
कुनै आतङ्ककारीको नायकको जस्तो
वीभत्स आदेश आउँछ

रङ्गमञ्चको केन्द्रमा
आवाजहरूको चक्रवाती निर्माण हुन्छ
म सोचिरहेछु
‘यो जीवनकै भयङ्कर कोलाहलमय शून्यताको
पहिलो अनुभव हो’

अचानक पर्दा झर्छ
रङ्गमञ्चमा एउटा साँघुरो गल्ली देखिन्छ
जहाँ एकजना वृद्ध मानिस
आफ्नी श्रीमतीको अन्तिम संस्कारमा
मलामी नभेट्टाएपछि
घण्टी बाहेक सबथोक बज्ने साइकल डोहोर्याउँदै
घाटतिर हिँडिरहेको हुन्छ
अलि पर्तिर एउटा किशोर
हप्याक हप्याक गरिरहेकी आफ्नी आमालाई
ठेलामा राखेर दूरको अस्पताल लैजाँदै हुन्छ
नजिकै एउटा अधबैँसे बाबु
आफ्नो तरुण छोराको लास छेउमा राखेर
जीवनकै सबैभन्दा विलासी उत्सव मनाइरहेको हुन्छ
गल्ली मास्तिरको झोपडीमा
सुत्केरी बेथा लागेर
रगतको आहालमा छटपटाइरहेकी महिलाको लोग्ने
हत्केलामा मुटु राखेर
धड्कनको गति हेर्दै
हेलिकप्टर पर्खिरहेको हुन्छ

हाय जिन्दगी !
संसारका सबै सुन्दर चिजहरूको वर्णन
कविहरूले गरिसके

चित्रकार महोदय !
तिमी यी माथिका सबै दृश्यहरूलाई
कुचीले रङमा एकसाथ कैद गर
तिम्रो क्यानभासमा
संसारकै उत्कृष्ट ‘कुरुप’ चित्र बन्ने छ
र त्यो ठ्याक्कै
कहिल्यै ऐना नदेखेको
मेरो शासकको अनुहार जस्तै हुने छ ।

दमक, झापा