माथि हेरेँ
रङ्गीन थियो
तल हेरेँ
श्याम–श्वेत थियो
आँखा बन्द गरेँ
कालो थियो
अनायास
कुनै समय बिन्दु
सब गायब थियो

मच्चिँदै, अनि थच्ँचिदै
उचालिँदै, अनि पछारिँदै
शायद यो
झट्कावाल पिङ
“रोलर कोस्टर” थियो ।

ढुक्क हुन्थेँ कि
जे होस्
किलो त जो धर्तीमै गाडिएको न छ
ओड्न त जो आकाश नै ओडिएको न छ !

अनि आफैँलाई सोधेँ
ओई, तँ कहाँबाट होस् !
हुन त यो प्रश्न नै
पहिचानको अनुकरण न थियो !

प्रस्थान
लौ सुन
म त्यहाँबाट हुँ
जहाँ बाँदर प्राथना गर्छ
जहाँ पशु मात्र होइन
पशु–का–नाथ–को पुकार हुन्छ
जहाँ देवौमा देव
महादेव–
किसानसँग हार्छ
र जित्ने किसान भन्छ
तपाई शम्भू
म स्वयम् शम्भू
स्वयम्भू

अझ
जहाँ सिद्धार्थ
जहान परिवार छाड्छ
र, मात्र बु्द्ध बन्छ

अझ सुन्ने
म जहाँबाट हुँ
त्यहाँ टिम्मुर फल्छ
त्यहाँ मरिच झुल्छ
त्यहाँ हिउँ चितुवा लुक्छ
त्यहाँ साँढे ढोकामा ढुक्छ
त्यहाँ गोमन आँगनमा रिङ्गिन्छ
त्यहाँ हात्ती–गैँडा गाउँ डुलिहिँड्छ
र, बाघ–स्याल बौलाएर शहर पस्छ

हत्तेरी पर्ख–पर्ख
अवशान
मलाई सम्झना भएसम्म
म आमाको गर्भमा थिएँ
नाभिमा जडित कमल
अचानक बेस्सरी ठेल्छ
म निचोरिएर फुत्त निस्कन्छु
र, मेरो जन्म हुन्छ
हो, बल्ल पो सम्झे
त्यहाँ–बाट आएँ म
जहाँ–बाट आएँ म
कहाँ–बाट आएँ म ।