
जुन दिन छोराले अंश लिएर
छुट्टिएर गयो नि
त्यसै दिनदेखि मन भाँचियो
जुन दिन बुहारीले मेरो काखबाट
नाती खोसेर लगिन्
त्यही क्षणदेखि आफन्तको नाता टुट्यो
भातको गाँस निल्न कठिन हुँदा-
आँशु नदेखाई
एकान्तमा नरोएको दिन छैन
सन्चो बिसन्चो सोध्ने छिमेकी छन्
सबै भएर पनि एक्लो जीवन
बाँच्नुमा कुनै मिठास छैन
रित्तो पिञ्जडा हेरेर टोलाउनुमा
गन्तव्यको सीमा छैन
छैन भनौं
जोरी पारीका अगाडि सबै थोक छ
छ भनौं लट्टाईबाट चुँडिएको
चङ्गाको नियति भोग्नु छ
सपना सजाएर सन्तान भने
आफूलाई घोटेर पिलाएँ र
भविष्यको सहारा ठानेँ
खुसी रित्तिए पछिको भाँडोसरी
बाँच्नु नपरे हुन्थ्यो
सन्तानले नसम्झेर के भो र
मलाई पनि तिनको सम्झना
नआइदिए हुन्थ्यो
ममताको अर्थबोध पढाउने पाठशाला भए
जीवन मूल्य पढ्
भन्नू हुन्थ्यो
तमाम गुनासाहरूको
अन्त्येष्टिका निम्ति
आफ्नै चितामा आफैँ
दागबत्ती दिन पाए हुन्थ्यो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

