
मेरो झाँक्रीले
थान थापेर
दियो जगाएछ
धुपौरेहरू
सेउली र धुप बोकेर
रमितेहरू
जोखाना बोकेर
एक दलान
एक आँगन
आशे र भरौटेहरू
कुखुरा भाखेको सुनेर
ओ…..नि क्यान्चरवा नामको
चिचिन्डो ठड्याएर
मेरो झाँक्रीले
कम्मर मर्काउँदै
मयूर पंखी ढल्काउँदै
ओ ….नि…गुरु…
ढ्याङ्ग्रो ठटाउँदै
चिन्ता शुरू गरिसकेछ
मेरो झाँक्री
रक्त शिकारी नचाउँछ
शिद्ध शिकारी नचाउँछ
महामशान खेलाउँछ
काल भैरव जगाउँछ
फू…..फू….फू
चारै सुर बाँधेर
काँचो वायू समाउँछ
सातो फर्काउँछ
पुत्ला जलाउँछ
साकिनी, डाँकिनी
बुढेनी, चुडेल्नी
सबैलाई तह लगाउँछ
सबैलाई तह लाउने मेरो झाँक्री
किन ऊ आफैँ मर्ने गर्छ ?
नाटक नगर झाँक्री
तेरो जामा पगरी
फुकालेर फाले हुन्छ
बोक्सी छैन
केको टुना मुना गर्छस् ?
तँ साक्षात् परमेश्वर भए
तेरा जहान बच्चा किन मर्छन् ?
हेर….हेर…..हेर
झाँक्री
अब तेरो चिन्ता उल्टो हुन्छ
नरपिशाचहरू बौरिएर
झाँक्री
तेरो थानमा
रगतको खोलो बगाउँछ
वीरे मसान
कालो घोडामा सवार गर्दै
तेरै छातीमा टाप बजार्छ
तेरो मन्त्र कता हरायो ?
घोडा छेक्न नसक्नेले
चुरिफुरी नगरे हुन्छ
तेरो शिद्ध शिकारी
अफाप सिद्धै हुन्छ
महामशान हराउँछ
चिचिन्डो होइन प्रभु !
मेची—काली रुवाउँछ
तैले बाँधेका
चारै सुर भत्काउँछ
कालापानीका काला भैरवहरू
तेरै सातो बोलाउँछ
अब भन त झाँक्री
तेरो चिन्ता के सार्थकै हुन्छ ?
हूँ….हूँ………हूँ
पञ्चेश्वर महादेवले
तेरै घाँटी समाउँछ
बल्ल मेरो झाँक्री
अब एैठन पर्छ
कूँ….कूँ…..कूँ….।
सुन्दरहरैंचा—६,
दुलारी, मोरङ



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

