कविता मूल हुन् त्यस्ता चित्तबाट पलाउँछन्
भावना मिसिई नौला मस्तिष्क सल्बलाउँछन् ।१

बग्दै जाँदा दुई बाटा बेग्लाबेग्लै बनाउँछन्
गद्य प्रकृतिमै बग्छन् पद्य बाटो खनाउँछन् ।२

बाटो खनाउनेवाला दिन्छन् बेग्लै मीठा लय
छोटालामा हुने के हो बाटाले गर्छ यो तय ।३

बाटो बनाउनेवाला स्वतन्त्र पथ खोज्दछन्
खोल्सा खोला नदीजस्तै यस्ताले लय रोज्दछन् ।४

बगून् दुवै जहाँ जस्तो भाव सङ्लो लिई बगून्
चित्तबाट हुने यात्रा चित्तसम्मै पुगी रहून् ।५

रचनाकारले रोजौँ आफू बग्ने सही क्रम
अर्काको पथमा आई नगरौँ अब रोदन ।६