तिमीलाई संसार टेकाउने आमा
धर्तिमा पाइला सार्न सिकाउने बाबा अनि
घामपानीबाट जोगाउने धुरीले
तिम्रो आशा र भर गर्न थालेकै बेला
तिमीले यो धर्तीमा पाएको पहिलो मध्येको
आमाको काख
बाबाको साथ र
यो धुरीको छहरी भुल्दै
कसैले धोका दियो भन्दै
टुटिजाने मायामा रूमल्लिएर
अविरल माया भुल्दै
किन मृत्यु रोज्छौ ?

तिमीले मायाको अर्थ नबुझ्दै
आमाबाबा र यो धुरीले
तिमीलाई अटुट माया गरे
तर तिमी केही छिन बाटो मिल्ने तर
दोबाटो मै छुटिनु पर्ने यात्रीसँग छुटिँदै गर्दा
मृत्युको ढोका खोल्छौ भने
तिमीलाई भ्रूणदेखि दिलवाले बनाउन्जेल
माया गर्नेहरूले
आफूले अविरल गरेको माया गुमाउँदा
के तिमीले रोजेको मृत्युभन्दा ठूलो
त्यस्तो के रोज्ने ?
यदि त्यो अवसर दिन सक्दैनौ भने
तिमीले काख, साथ र छहरी बिर्सेर
किन मृत्यु रोज्छौ ?