
उनको र मेरो सम्बन्ध घाम छाया जस्तै हो
उनी घाम अनि म छाया
जब रात पर्छ, उनी मलाई ढोकैमा छोडेर जान्छिन्
दिनभरि मैले गरेको रेखदेख भुलाउँदै
आफ्नै संसारमा मग्न हुन्छिन्
जब उनलाई आवश्यकता पर्छ
म उनको पाउमा हुन्छु
त्यो बाटो सही होस् वा गलत
म उनका हरेक कुरालाई चुम्छु
उनका लागि म सत्य हुँ
र, धोका दिन्नँ भन्ने पनि थाहा छ
तर, पनि उनी मलाई भुसुक्कै भुल्न भ्याउँछिन्
मानिस कति स्वार्थी हुन्छ
त्यो छायालाई मात्र थाहा छ
एक पल मेरो साथ भएझैँ गर्दै
अर्को पलमा बिर्सिएर अन्तै कतै जान्छिन्
दोबाटोमा मलाई एक्लै छोडी
न बस है भन्छिन्, न सँगै लान चाहन्छिन् ?
कस्तो निर्मम मुटु त्यो
सबै थाहा पाएर नि थाहा नपाएझैँ गर्ने
एकै पलमा म बिना बाँच्दिन भनेर, एकै पलमा हराउने
न घर न गाउँ अचेल मेरो केही छैन ठेगाना
तिमीले जहाँ छोड्यौ,
म त्यही कुरिबसेको छु भै तिम्रो दिवाना
दिनले थकान, दुःख र अँध्यारो डाक्छ
रातले सधै नयाँ ऊर्जा भर्दै नयाँ बाटो देखाउँछ
दिनले रातलाई जसरी छोडेझैँ
तिमीले पनि मलाई छोडेकी छौ
तिमी दिन, म रात
तिमी उज्यालो
अनि, म तिम्रो छाया ।
विदुर–१, नुवाकोट, नेपाल



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

