
म त पागल नै रहेछु
सबैलाई राम्रो देखिनु मन छ
मलाई नराम्रो देखे पनि ठीकै छ
सबै राम्रो हुन खोज्छन्
म नराम्रो हुन खोज्छु
म त पागल नै रहेछु
म त पागल नै रहेछु
राम्रो हुनलाई संस्कारी बन्छन्
मीठो, राम्रो, राम्रो बोल्छन्
कति धार्मिक बन्छन्
इच्छाहरू मनमै छुपाउँछन्
रिस, आरिस भित्रै लुकाउँछन्
नभएको आफूलाई देखाउँछन्
म त पागल नै रहेछु
म त पागल नै रहेछु
सच सुनाउन खोज्छु
ताराजस्तो चम्कन खोज्छु
आफैँमाथि हाँस्दै हुन्छु
घामसँगै उदाउन खोज्छु
हिमालजस्तो आँटिलो मान्छु
फूलभन्दा कोमल ठान्छु
सानो बालक नै हुन्छु
केही नजान्ने मान्छु
कहिले बुद्धिमानी ठान्छु
म त पागल नै रहेछु
म त पागल नै रहेछु
कहिले ध्यानमा बस्छु
कहिले खित्का छोडेर हाँस्छु
कहिले शान्त भएर बस्छु
कहिले उफ्री उफ्री नाच्छु
कहिले किताब पढ्छु
कहिले आफूलाई पढ्छु
कहिले ठूलो हुन्छु
कहिले बिलाएर शून्य हुन्छु
शून्यमा परी पूर्ण हुन्छु
कहिले चञ्चल बनी घुम्छु
कहिले मौनमा रुन्छु
म त पागल नै रहेछु
म त पागल नै रहेछु
संस्कारी म बन्न खोज्दिनँ
नभएको आफूलाई देखाउन खोज्दिनँ
रिस र आरिस म भित्र बोक्दिनँ
राम्रो आफूलाई देखाउन खोज्दिनँ
मीठो मीठो बोल्न सक्दिनँ
धार्मिकताको चादर ओढ्न सक्दिनँ
म त पागल नै रहेछु
म त पागल नै रहेछु
मीठो बोली मान कमाउँछन्
राम्रो देखाई शान कमाउँछन्
धर्म देखाई सम्मान कमाउँछन्
डर लुकाई शक्तिशाली बन्छन्
क्रूरता देखाई नाम कमाउँछन्
बन्धनमा बसी आजाद देखाउँछन्
मान्यता बोकी प्रेमी बन्छन्
म त पागल नै रहेछु
म त पागल नै रहेछु
सत्य बोलेर मान गुमाएँ
शक्तिशाली भई शान गुमाएँ
मान्यतालाई त्यागी नाम गुमाएँ
आजाद भई डर देखाएँ
आफूलाई सम्मान गरे शान देखाएँ
आफूलाई प्रेम गरे स्वयंलाई पाएँ
खित्का छोडी हाँसे, उफ्री उफ्री नाचे
म त पागल नै रहेछु
म त पागल नै रहेछु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

