नजरले जब एक चुस्को लगाएको थियो
खप्न नसकेर
मुटुको धड्कन बढ्न थाल्यो
रगत उम्लन थाल्यो
अङ्ग-अङ्ग रसाउन थाले
उसको नशालु नजरको प्याला
एकै पटक रित्याउँजस्तो लाग्थ्यो
फेरि शान्त र सौम्य भावमाथि
अप्रत्याशित हमला पनि पाप हो
आफू संयमित हुन प्रयत्न गरेँ
तर विवश
उसको यौवनले
यस्तो सुगन्ध छरिरहेको थियो
जसले मलाई हलुका स्पर्श गर्दै
चुनौती दिइरहेको थियो
उसलाई थाहै नदिई
विस्तार-विस्तार मलाई मात लाग्दै थियो
म तुलना गर्दै थिएँ
अरु कुनै विदेशी रक्सीको नशासँग
कहिल्यै यसरी लागेन मलाई
तर आज उसको उपस्थितिको वातावारण
अत्यन्तै असहनीय रोमाञ्चक भएको छ
म आफैँभित्र हराउन थालेँ
समय बितेको थाहै भएन
वातावरण परिवर्तन भै सकेछ
एक्कासि अँध्यारो भएको भान भयो
लाग्थ्यो उसलाई मबाट
कसैले टाढा लान खोज्दैछ
म उठेर भित्र पसेँ
झ्यालहरू लगाएर फेरि आँगनमै आएँ
बेस्सरी हुरी आइरहेको थियो
म सकी नसकी उसैलाई हेर्दै थिएँ
उसलाई कसैले
मेरो सामुन्नेमा बलात्कार गर्दै थियो
लछार पछार पार्दै थियो
लाग्थ्यो ऊ मसँग गुहार माग्दै थिई
म विवश हेरेको हेरेकै थिएँ
उसको कलिलो यौवनमाथि
यसरी सांघातिक हमला भयो
ऊ स्वतः लडी / लडाइयो
म मनमनै ऊसँग क्षमा माग्दै थिएँ…
उसको आजै मात्र फक्रिएको यौवन
केही क्षण बिताउन नपाउँदै
मेरो सामुन्ने यसरी हराएर गयो
मानौं कुनै अपहरणकारीले जस्तै
निर्दयी बतासले उसलाई विलिन गरायो
मात्र मलाई संस्मरण गराएर
मेरी मायालु मेरी प्रेयशी
मेरो आँगनमा फुलेकी
कोमल सुकुमारी गुलाफ
मेरै उपस्थितिमा यसरी नस्ट भै
मलाई सपना जस्तै गराएर ।
विराटनगर, नेपाल



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

