आऊ, नयाँ वर्ष आऊ
नयाँ उमङ्ग, उत्साह र जोश लिएर आऊ
तिम्रो स्वागतमा हामी घरको सँघारमा
एक जोर ताँबाको गाग्रीमा फूल भरेर
स्वागतका निम्ति कुरिरहेछौँ

समय त अविरल बग्ने खोला रहेछ
कहिल्यै पछि नहेरी हिँड्दोरहेछ
कस्ता असहनीय पीडाहरू दिइराखेर
ऊ त निष्ठुरी भएर सुइत्त भाग्दोरहेछ

नसोचेका घटनाहरू घटेपछि
क्षत विक्षत बन्दोरहेछ एउटा घर
टिप्नै नसक्ने गरी छरपष्ट बन्दोरहेछ
एउटा परिवारको श्रृङ्खला
कुनै सदस्यलाई गुमाएपछि
मृत्युले उसलाई जितेर लागेपछि
बाँच्नेहरूका घरमा त्यसपछि
शून्यता सिवाय केही नहुँदोरहेछ
त्यसपछि रहने भनेको त
केवल याद मात्र रहेछ

उनीहरू फर्केर कहाँ आउँछन् र
जसरी पुराना वर्षहरू फर्कंदैनन्
सम्झना आउँदा मुटु दुख्ला
बरू आँशु नै झर्ला
मृत्युले जितेपछि त यसरी
हामीबाट कसै विरानो
कसैबाट हामी बिरानो बन्दाबन्दै
एउटा वर्षको क्यालेण्डर नै सकिँदोरहेछ

जीवनमा एउटा सकारात्मक दिन बाँचौँला
केही खास गरौँला भन्दाभन्दै
सकिँदोरहेछ एउटा डल्लै वर्ष
नयाँ वर्षले जीवनका हाँगाहरूमा
नयाँ कोपिला, नयाँ फूल, चिचिलासितै
एक मीठो फल फलाउन सकोस्
जम्मैमा नयाँ वर्षको शुभकामनाहरू…।

बाँसबोटे, दार्जीलिङ