मान्छे र परिचय

राजेन्द्र पराजुली

राजेन्द्र पराजुली

मान्छे मुर्दा भएको
मान्छेलाई के थाहा ?
मान्छेमाथि जे गरे हुन्छ–
जेसुकै भने हुन्छ
गुण गाए हुन्छ
गाली गरे पनि हुन्छ
उपहार दिए हुन्छ
श्राप ख्वाए नि हुन्छ
त्यो कालो रङ हो
जे पोते पनि हुन्छ ।

मान्छेको जन्म भएको
मान्छेलाई के थाहा
जस्तै नाम दिए हुन्छ–
नामै नदिँदा हुन्छ
लुगा लगाइदिए हुन्छ
नाङ्गै छाडिदिए पनि हुन्छ
अपाङ्ग बनाइदिए हुन्छ
सपाङ्ग छाडिदिँदा हुन्छ
यौन तृष्णाको समष्टि न हो
जहाँकहीँ प्रयोग गर्दा हुन्छ ।