१) ‘धन्यवाद’

– रोशन परियार

अरबौं ती शुक्रकीटहरूलाई धन्यवाद
जो मलाई बनाउन पोखिए
न्यानो गर्भाशयलाई धन्यवाद
जसले अरूलाई पन्छायो र मलाई भित्र्यायो

ती प्रत्येक सेकेण्डहरूलाई धन्यवाद
जसले मेरो ढुकढुकी चलाउन आफूलाई बन्द गराएनन्
नौ महिनासम्म बसेको प्रेमघर
र धोकेवाज समयको स्वागतलाई पनि धन्यवाद

पहिलोपटक बगेको आँशुले आजसम्म साथ छोडेन
पहिलोपटक छोडेको खित्का आजसम्म फर्किन सकेन
यी दुवैलाई पनि धन्यवाद

देखेको पहिलो दृश्य यादमा रहन सकेन
देखिएको अन्तिम दृश्य यादमा राख्न सकिन्न
यो बीचमा देखिएकाहरूलाई पनि धन्यवाद

पहिलो बोलीमा के बोलियो र कस-कसले हल्ला गरे ?
अन्तिम बोलीमा के बोलिनेछ र को को मौन रहने छन् ?
पहिलो बोली फर्किन सकेन
अन्तिम बोली फर्काउन सकिन्न
यो बीचमा जे बोलिनेछ, त्यो बोलीलाई पनि धन्यवाद

सुनेको पहिलो आवाज सम्झन सकिएन
सुनिएको अन्तिम आवाज सम्झन सकिने छैन
दोहोर्याएर सुन्न नपाइने ती आवाजलाई पनि धन्यवाद

पृथ्वी टेक्दा पाप नलागोस् भन्न पाइएन
पृथ्वी छोड्दा पुण्य हुनेछ भन्ने पनि होइन
तै पनि धर्तिले टेक्न दियो धर्तिलाई धन्यवाद

आजीवन खुवाउने , आखिरमा आफैँ खाने आगोलाई धन्यवाद
आरम्भदेखि साथ रहने, अन्त्यमा हात छोड्ने हावालाई धन्यवाद
उभिन दिएर अन्त्यमा गाड्ने जमिनलाई धन्यवाद
पिएर बचाउने पछि बगाउने पानीलाई पनि धन्यवाद

जीवन मृत्युकै त रहेछ नि
उसलाई पनि धन्यवाद ।

 

२) गेजेट जुग

– रवि रोदन

प्रेमिल हावाको बतास नपुग्ने
असंख्य गाउँहरूलाई
अहिले हैजा लागेको छ
आफ्नै टाउकोमाथि
टावर बोकेर हिँड्दैछ
मान्छेहरू
र त चकमन्न छ हरबखत गाउँ
चराहरूको चिरबिर
खोलाको आवाज म्युट छ

आँखाभित्रको रेटिनालाई
कति गाह्रो पर्छ
जो एकहोरो
गुलाम मस्तिष्क

आँखाहरूको भाषा
अनुवाद गरिरहन्छ
र तताइरहन्छ
चिसो समबन्धको
असंख्य कथाहरू

भलाकुसारी गर्ने
फुर्सद समेत छैन गाउँलाई
गेजेट जुगमा खुट्टा राखेदेखि
अहिले भर्चुएल रिलेसनसिपमा छ गाउँ
आफ्नै समयको कथाहरू
बन्धकी राखेर
गाउँ बदनाम बनेको छ

मृत्युमा परेको शोकाकुल परिवारलाई
आफ्नो संवेदनशीलता देखाउन
R
I
p
भन्छ गाउँ
मान्छेहरू सब टावर बोक्ने
रोबोट भए

पार्कमा दुई प्रेमिल जोडी
उमेरको आधा गलबन्दी मक्किएको
चाउरी परेका लैला मजनु
राता गुलाबहरूसित
अङ्गालो हालेर बसेका छन्
भ्यालेन्टाइन कुरी रहने मूर्ख प्रेमीहरू होइन्न
उनीहरू बेबाक प्रेम गर्छन्
उनीहरूका
आँखाहरू धमिला देख्छन्
वरिपरिका थोकहरू
गेजेटहरूदेखि टाडा
र त प्रेमिल गीत गाउँदैछन्

रोबोटहरूको गाउँमा
यो प्रेमिल जोडी पस्नु खतरनाक हो
गुलाबहरू फुल्नु खतरनाक हो
यो गेजेट जुगमा
प्रेम गर्नु खतरनाक हो
म त भन्छु
प्रेमिल हावाहरूको बतास
एकपल्ट हुरी बनेर आओस्
र तहस नहस पारोस्
रोबोटहरूको गाउँ ।

३) दुख्नु

– विशाल नाल्बो

अचेल
बाडुल्कीभरि पहाड खस्छ-आत्तिन्छु
सपनामाथि ऐँठन खस्छ-आतिन्छु

सम्झनाहरूको
लामो यात्रा हिँडेर
कुन बस्ती पुगुँ र-भेटुँ तिमीलाई ?

दुख्नुको कुन दहसम्म
दुखुँ र-भनुँ तिमीलाई ?

कि ! अब मसँग दुख्ने ल्याकत छैन

अचेल
जब/जब आँखाको डिल/डिल हुँदै
खस्छ आँशु
तब हत्केला-भरि तिमी दुख्छौं।

४) यो बाटो कहाँ पुगिन्छ दाइ ?

– आर्यश

यहाँबाट सिधै अगाडि जानू
अलिक प~~र पुगेपछि
त्यहाँ चौबाटोहरू आउने छन्

ती तीन वटै बाटोहरू छोडिदिनू
बीचको बाटो बाटै~बाटो जानू
अलिक प~~र पुगेपछि
तिम्रोसामु तीन वटा पहाड आउनेछ

अचम्म लाग्नेछ तिमीलाई
जहाँ
तिमीले एउटा विशाल भिर देख्नेछौ
भिरैभिर देख्नेछौ
जहाँ उभिएर तल हेर्नेछौ
रातै जमेको गहिरो पोखरी देख्नेछौ
जहाँ
कुनै एउटा अज्ञात कविले
आफ्नो अन्तिम कविता लेखिसकेर
हाम फालेको थियो

तिमी नतर्सिनु
अघि बढ्नु
जहाँ तिमीलाई
आफ्नै छायाले पनि तर्साउन सक्नेछ
नतर्सिनु
अघि बढ्नु

केही अपराधीहरूले लखटने छन्
केही क्षण अँध्यारोले पछ्याउने छ
नडराउनु
डर लागिहाल्यो भने यदि
नजिकै एउटा उठाउन सकिने चट्टान हुनेछ
त्यसैले किचिएर मर्नु
चट्याङ पर्न सक्छ
बजारिन छाती थाप्नु

अघि बढ्नु
तिमीलाई खान भनी बसेको एउटा
हिंस्रक जनावर हुनेछ
त्यसलाई जसरी छक्काएर अघि बढनु
त्रासदी जङ्गल पार गरेर
अलिक प~र पुगेपछि
एउटा बूढो कुसुमको रूख देख्नेछौ
जहाँ
एउटा प्रेमीले
आफ्नै प्रेमिकाको सलमा झुन्डिएर
देहत्याग गरेको थियो

अझै अघि बढ्नु
बाटैभरि काँडा नै काँडा फूलेका हुनेछन्
आगोका लप्काहरू बिछ्याइएका हुनेछन्
बतासले कार्बन मात्रै बोकेर हिँडेको हुनेछ
जहाँ तिमीले
मान्छेहरू मान्छे देख्नेछैनौ
कङ्काल केवल कङ्काल देख्नेछौ
मुर्दा सडकैसडक अघि बढिसकेर
अलिक प~र पुगेपछि
तिमीले एउटा मण्डला देख्नेछौ
जहाँ
एउटा नागरिकले
म बाँच्न पाउँ भन्दा
गरिखान पाउँ भन्दा
अन्न माग्दा – बीउ माग्दा
सरकाले ‘उसलाई’ गोली ठोकेको थियो

बाटोमा मुटु नभएका मान्छेहरू भेट्नेछौ
उनीहरूलाई ढुङ्गाले नहिर्काउनु
खल्तीमा भएको एक खिल्ली आगो झिक्नु
सल्काउनु र…
प~र प~र पधेँरोमा प्यासी अश्वस्थमा भेट्नेछौ
उसैको निधारमा झोसिदिनू

त्यहाँबाट अलिक पर नपुग्दै एउटा
रगतका टाटा बसेको रातै मैदान देख्नेछौ
जहाँ बसेर एउटा स्वप्नद्रष्टाले विष पिएको थियो
र रातै मुटु छादेको जीवन्त अभिनय गरेको थियो

त्यो भन्दा पनि पर~पर पुगिसकेपछि
तिमीलाई नै मानिसहरूले उल्टै सोध्न थाल्नेछन्
यो बाटो कहाँ पुगिन्छ दाइ ?
भनिदिनू –
यहाँबाट सिधै अगाडि जानू
अलिक प~र पुगेपछि
त्यहाँ चौबाटोहरू आउनेछन्
जुनसुकै बाटो हिँड्नु
तिमी पुग्नुपर्ने भन्दा बाहेक जहाँकहीँ पुग्नेछौ ।

५) अन्तिम पत्र

– तीर्थराज विश्वकर्मा

घस्रिँदै – घस्रिँदै
जिन्दगीको अन्तिम बिन्दुमा आइपुगेको छु

मैले बाँचेका / बाँच्न नसकेका
सबै कुराहरू समेटेर – केही नमेटेर
अन्तिम पत्र लेख्न मन छ

तर
सम्बोधन कसलाई गरुँ ?
जन्मलाई / मृत्युलाई ?

म यतै आराम नै छु भनेर लेखुँ कि ?
जीवनदेखि अब आराम गर्न चाहन्छु लेखुँ ?

थियो सम्बन्धको डोरी निक्कै लामो…
समयसँगै जोडिँदै, चुटिँदै, छुटिँदै गयो
अहिले हातमा एक जिन्दगी डोरीको टुक्रा पनि छैन

अब कसलाई अङ्गालो हालेर सुनाऊ
सबैसँग लुकाएर राखेका जीवनका किस्साहरू

सन्दूकमा राखेका
खुशीका पोकाहरू – गुम्सिएर मरे

किताबमा {लुकाएर} राखेका
प्रेमिल फूलहरू – ओइल्याएर झरे

तिम्रो ओठको हाँसो हेर्न राखेका
आँखाहरू – धमिलो भयो

तिमीसँग हिड्छु भनेर नहिँडेका
बाटाहरू – हराएर गयो

जीवनमा खुशीहरू च्याप्न भनेर राखेका
ओठहरूले – दुःखहरू मात्रै च्यापिरहेँ

एक्लै बाँच्न / एक्लै हाँस्न
गाह्रो हुँदो रहेछ भनेर
सुनाउन जतनले राखेको
एक खोकी सास पनि गाँठो पर्यो

छुट्टिनेहरू / भेट्टिनेहरू
केही नभनी आए / गए

जिन्दगीमा
आएका / गएकाहरूसँग
अन्तिम पटक न्यानो अँगालो हाल्न मन छ !

तर यत्तिखेर
आएकाहरू न साथमा छन्
गएकाहरू न यादमा छन्

जिन्दगी, मैले यस्तो जिन्दगी बाँचे !
जिन्दगी तँलै चाँहि कस्तो बाँचिस् ?

शुरू कता अन्त्य कता
यो कविता जस्तै……
यो जिन्दगी जस्तै………

६) उल्झनहरू

– अन्शु खनाल

दुई हातको बूढी औँला र छेउको औँलामा
मसिनो डोरी लिएर
केही न केही अल्झाइरहन्थ्यौ तिमी
कयौंपटक तिमीले त्यही डोरीमा अल्झाएको मेरो हात
उत्तिन्खेरै खै कसरी आजाद गरिदिन्थ्यौ पनि
मैले त्यो खेल कहिल्यै सिक्नै सकिनँ
अल्झाउन त सिकेँ
खै कसरी
अल्झाएको वस्तु निकाल्दा सधैँ गाठो परिरह्यो

सुन्दर देखाउनलाई हजुरआमाले कपालमा लगाइदिएको लाछा डोरीमा अल्झिएँ म
अर्को पटक
मलाई डोरी न कहिल्यै सरलक्क बाट्न आयो
न कहिल्यै सरलक्क खोल्न नै
कपाललाई लाछाले कुनै
असुरले बेरेजसरी बेरिरह्यो

अबदेखि यी तिम्रा साथीहरू हुन्
यसले तिमीलाई सुरक्षा दिन्छन्
आमाले खाटमा फ्यात्त ब्रा फ्याल्दै भन्नुभयो
उमेरसँगै बढेको स्तनलाई पनि
स्वतन्त्र छाडिदिन सकिनँ मैले
फेरि एकपटक म
ब्राको स्ट्र्याप्समा उल्झेँ

अर्काले साडी लगाएको खुब मन पर्थ्यो
सुरवालको ग्यान्टिसमा
सारी बेरेर ऐनामा हेरेर आफैँलाई चुम्थेँ
थाहा थिएन
साडीको मुटु हुन्छ पेटिकोट
बेस्सरी बाँधेपछि पेटिकोट
राम्रो देखिन्छ सारी
किशोरी हुन नपाउँदै
बा´ले रातो साडी र पेटिकोट
देखाएर भन्नुभयो
अब कस्न सिक पेटिकोट
तिमीले बाँच्नु छ यसकै कसाईको सहारामा

फेरि अर्कोपटक म पेटिकोटको डोरीमा अल्झिएँ
यो पटकको अल्झाई दर्दनाक थियो…
हरेक पटक मैले बलियो गरी कसेको पेटिकोट
मैले आफैँले कहिल्यै खोल्न पाइनँ

लोग्नेले लगनमा दिएको पोते
छनलाई खुब सुन्दर थियो
तर म अल्झिरहन्थेँ त्यसकै दाना-दानामा

छेउमा वर्तमान रोइरहेको थियो
त्यसको आडमा थियो कपडाको एउटा
गुजुल्टो…
कम्मरमा कस्नुपर्ने त्यो गुजुल्टोले
कसिदिन्थ्यो मेरो सम्पूर्ण शरीर र
त्यसैको लम्बाईमा हराउँथे म…

कहिले जेठाजुको नजरबाट बच्न टाउकोमा हालेको
टालोसँग अल्झिन्थेँ,
कहिले धोतीको फेरोसँग
कहिले कुर्ताको सलसँग
त कहिले आफ्नाहरूको नजरहरूसँग बच्न खोज्दा
आफ्नै पाइतालाको गतिसँग अल्झिन्थेँ

तिमीलाई लाग्यो होला
के दु:ख थियो र गइस् तँ…
हातको डोरीबाट तिम्रो हात निकाल्न खोज्दा
बनेका गाँठाहरूजस्तै
जिन्दगीका गाँठाहरू फुकाउँदै गर्दा
म उल्झनको भुमरीमा
यसरी अल्झिएँ
कि गाँठाहरू फुकाउँदै वर्षौं बित्यो

यत्तिका उल्झनहरू फुकाएर
यति प…र आएको छु
अब मलाई नरोक
म फेरि
त्यही भुमरीमा
फर्कन चाहन्नँ ।

७) खै त्यो को थियो

– सुमिना

त्यो हजार वेदनाहरूको
समाधिस्थल थियो
हुलका हुल आँशुहरूको
समागम थियो

त्यहीँ पुग्थे यात्रुहरू
हजार दर्दका कहानी बोकेर
जो माथि दीनदुःखीहरूको भरोसा थियो
खै त्यो को थियो ?

जहाँ गर्थे दिनहुँ विजयीहरू
उत्साहको आयोजना
जहाँ गर्थे धनाढ्यहरू
फजुल दौलतको अर्पण
त्यहीँ पुग्थे अभिलाषा बोकेर
प्रेमको आयु माग्न
नगन्य प्रेमीहरू
खै त्यो को थियो ?

न त्यो कहिल्यै पग्लन्थ्यो
दर्दका कहानी सुनेर
न भावुक हुन्थ्यो प्रेमका उद्गार सुनेर
न चलमलाउँथ्यो, न उत्साह देखाउँथ्यो
न हाँस्थ्यो, न रुन्थ्यो
बस्, त्यो चुपचाप सुन्थ्यो
खै त्यो को थियो ?

न थियो त्योसँग
कसैका आँशुहरूको निधान
न थियो दर्दहरूको अन्त्य
न थियो अभिलाषा पूर्ण गर्ने सामर्थ्य
बस्, त्यो आफैँ निर्जीव थियो

न त्योसँग चेतना थियो
न हृदय, न संवेदना, न थियो अनुभूति
त्यो मात्र पत्थर थियो
एक हृदयविहीन पत्थर
मान्छेहरू भन्थे
‘त्यो ईश्वर थियो’ !