एक हिस्सा अंश बुझेर समयसँग
युगौँदेखि
चार प्रहरको भारी छाँदेर ढाकरमा
लम्किरहेको छ लम्बेतान यात्रामा

जब घाम निदाउँछ
अनि निद्रा खुल्छ उसको
ऊ जागा भएपछि
कर्म रोप्दा–रोप्दा
थाकेर लखतरान भएका मनहरूलाई
सुत्ने अवसर दिन्छ
आड लिएर काला कर्महरूको
विलासी जिन्दगी बाँच्दै सुतिरहेको भीडलाई
सपनाको माध्यमबाट भएपनि
भरिदिएर ज्ञानको ज्योति
सुकर्मको वैशाखी टेकेर
निकै परसम्म पुग्न सकिने
सफा चौडा बाटो देखाइदिन्छ
दिनभरिको घामले सेकेर
आँत सुकेका प्यासी जीवनहरूलाई
चन्द्रमाको च्यादर ओढाएर
सिञ्चित गर्दै शीतले तप्प तप्प
आनन्दले एक मुठी सास फेर्ने अवसर दिन्छ

आफू अँध्यारोले झ्याप्पै छोपिनु पर्दा पनि
मितेरी गाँसेर नक्षत्रहरूसँग
धरतीभरि ज्योति छर्छ ऊ
पालना गरेर पालो प्रणालीको सम्झौता
निर्धारित अवधिको समाप्तिपछि
सरक्क बिहानीलाई आसन सुम्पन्छ ऊ
तर अफसोच !
उसलाई अहितकर बिम्बमा उपस्थापन गरेर
अक्षरको खेती गर्छन् एक हुल मान्छेहरू
उज्यालो छेक्ने अभियुक्त करार गरेर
ब्रह्माण्डको झ्यालखानामा
आजीवन कैद गर्न खोज्छन् अर्का हुल मान्छेहरू
तथापि
उसले आजसम्म
कहिल्यै विद्रोह बोलेको छैन
सृष्टि सञ्चालनको यात्रामा
अनुपस्थितिको कुनै सङ्केत गरेको छैन

प्रशंसाको भारी बोकेर उकालो चढ्न थालेपछि
किन मैदानको महत्व भुल्छ मान्छे
फेरि आलोचना पस्कन थालेपछि एकसुरले
किन संसार सबै बेकामे देख्छ मान्छे
किन दुई किनारा देख्दैन जिन्दगीका
किन उज्याला र अध्यारा दुवै पाटाहरू देख्दैन सृष्टिका
मौनताको गर्भाशयमा
यस्तै आश्चर्यहरू हुर्काइरहेको छ रात
अनि तेर्स्याइरहेको छ प्रश्नहरू मान्छेहरूलाई
उज्यालो खोज्न हिँडेका आँखाहरूमा पट्टी बाँधिदिदा जल्लादहरूले
निःस्वार्थ सहारा दिएको उसको अतीत हरायो कसरी ?
दुश्मनहरूले बाटाभरि धराप थापेपछि
फरक बाटोबाट अगाडि बढ्ने निर्णयमा हस्ताक्षर हुँदा बन्द कोठामा
असली साक्षी बसेको उसको इतिहास च्यातियो कसरी ?
उज्यालो रोप्ने सपना बाँडेर बस्तीमा
गाउदै हिडेका स्वरहरूमाथि दमन भएपछि
भाका बदलेर गाउने योजनामा
सहमति गर्दा आवाजहरूले
कुनै सुराक नदिइ दुश्मनहरूलाई
आश्रय दिएको उसको देन मेटियो कसरी ?