गर्भैदेखि ममता पाएर जन्म्यो
सबैमा खुशी लिएर हुर्क्यो
जन्म, छैठी, न्वारन भयो
सबै खुशी, मख्ख भए
बधाई पाएर बा-आमा
यसै फुरुङ्ग भए

फेसबुकका भित्ता भरिए
भोज, पार्टीमा छिमेकी दङ्ग परे
दुई वर्ष पुग्दै मन्टेश्वरी
त्यतै दङ्ग, पैसा लाख-लाख
बुझाउदा तर्सिएर दङ्ग
अङ्क ल्याउदा हौसिएर दङ्ग
झोला भरि कापी, कलमको
भारी बोकेर सन्तान दङ्ग
घर फर्किदा सन्तान
देखेर बा-आमा दङ्ग

गुन्यू-चोली, छ्योर भयो
फेरी भोज पार्टी उसै दङ्ग
लुगा फाटो कति-कति
आफन्त अनि छिमेकी नि दङ्ग

दिन गन्यो, रात भन्यो
बा-आमाको उमेर गन्यो
कपाल फुल्यो, गाला चाउरिए
काँधमा जिम्मेवारी झनै थपियो
छोरो
एसएलसी पास भयो
नयाँ स्कूल, कलेज गयो
शुल्क उस्तै महँगो रह्यो
बल्ल तल्ल पास भयो

बा !
अब म बेदेश जान्छु भन्छ
सबै गए, देशमा केहि छैन
वल्लो गयो, पल्लो नि गयो
सबै देख्दा
बाको मन फर्कियो
ऋण खोजे, धन झिके
गैरी खेत नि बेचे
पासपोर्ट, भिसा, टिकेट गर्दा
कलेजमा लाखौ गयो
ऋणको भारि बोकाएर
सन्तानको बिदाइ गरे
टीका खादा लगाएर एयरपोर्टमा
आँशु बाले झारे

दुई-चार दिन, महिना खुशी भए
पसलमा सबै सबैको चियाको
पैसा तिरे
आमा खुशी थिइन्
बा खुशी थिए

डाँडा पारिको घामजस्तै
दिन ढल्दै गयो
आमा थला परिन्
सन्तानसँग भिडियोमा
कहिलेकाहीँ कुरा हुन्थ्यो

अचानक
आमा ओछ्यान परिन्
बा एक्लै भए
अस्पताल लैजाने एक्लै
पानी दिने, लुगा फेर्ने
बा एक्लै-एक्लै
छिमेकी आउने, जाने गरेनन्
आमा उठ्ने नसक्ने भइन्
र पनि सन्तान फर्केनन्

उफ !
एकदिन आमा नउठ्ने गरी
सदाका निदाइन्
मशानघाट रित्तो-रित्तो थियो
छिमेकी, आफन्त फाट्टफुट्ट थिए
सन्तानले सस्कार सम्झेन
न बैतर्नी, न काजकृया गर्यो
बा पैसाले सबै गर्नु
अर्को साल आउँछु भन्यो
म बेसहारा बाँचिरहे
प्रकृतिको लीला भोगिरहेँ

यो दोष
मेरै मात्र थियो र सरकार ?
जनशक्ति तयार गर्ने
पाठ्यपुस्तक तिम्रै थियो
भाषा, धर्म, पोशाकमा रजगज तिम्रै थियो
संस्कार जोगाउने समाज
प्रकृति तिम्रै थियो
सबैको शुल्क तोक्ने हाकिम तिम्रो थियौ
शक्ति तिम्रै थियो
म त केवल तिम्रो शुल्क तिरिरहेँ
जे-जे बोल्यौ, सुनिरहेँ, सबै-सबै सहिररहेँ

सरकार
तिमी दोष देखाई राख
म तिमीले सिर्जेको नियति
भोगिरहेछु, तिम्रो उपहार हेरिरहन्छु
अन्तिम यात्राका लागि
दिन कुरिरहन्छु, कुरिरहन्छु ।