अज्ञात छन् आउने भोलिहरू
जीवन धेरै हिजोहरूको संकलनले बनेको छ
बिस्तारै
जीवन पाक्दै गएको हुन्छ
पूरै पाकेपछि झर्छ
झर्नुपूर्व आफ्नाहरूले
अस्पताल र डाक्टर नाउँको थाँक्रा दिनेछ
केही दिन अडिएला ती थाँक्राहरूमा
मिति पुगे समयले लतारेर लग्छ
-थाँक्राको पनि केही चल्दैन
गलेर झर्छ
अभिन्न आत्मा बतासमा मिसिएर जान्छन् होला
फगत ठम्याइ
बाँकी पञ्चतत्त्वमा बिलाएर जान्छन्
त्यसपछि रहने भनेको सम्झनेहरूको यादमा मात्रै हो
जीवन-
जीवनको अर्थ आ-आफ्नै प्रकारले केलाउने गर्छ
मान्छेहरूले
आ-आफ्नै प्रकारको परिभाषा ओकल्छन्
मान्छेहरूले जीवनका बारेमा
कोही जीवनलाई यात्रा भन्ने गर्छन्
कोही जीवन भनेको संघर्ष हो भन्ने गर्छन्
खासमा जीवन केहो भनेर बुझ्दाबुझ्दै सकिन्छ
-यस्तो केही समयका लागि पाएको जुनीमा
मान्छे के-के मात्रै गर्दैन
-कोही सुन्दरताको घमण्ड गर्छन्
आखिर आगोले जलाउने बेला माटोमा पुर्ने बेला
सुन्दरताको लागि अलग्गै प्रकारको
विधिवत बिदाइ त हुन्नन् होला
कोही सम्पन्नता र सम्पत्तिको तुजुक देखाउँछन्
ती तुजुक देखाउनेलाई तिनका सम्पत्तिले
पोलेको मैले चाहिँ सुनेको छैन
यदि कसैले देखेको सुनेको छ भने कृपया
-मलाई खबर दिनु है ?
लुकेका मनका बन्द कोठाहरूमा
जहाँ भावनाहरू सुत्छन्
मुटुको गहिरो खाडलभित्र
झुटो आशा र डरको बिम्ब सलबलाउँछन्
हाँसोको भेषको पर्दा पछाडि
स्वार्थको छुरा बनाउने कारखाना स्थापित गरेर
आत्मा बलि दिन
पछि हट्दैनन् छद्मभेषी मान्छेहरू ।
पाँचखाल-११, काभ्रेपलान्चोक



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ माघ २०८२, शुक्रबार 










