पुष्पा शर्मा

मेरो मनको मझेरीमा बस्ने प्रियतम
उठ, केही त बोल
मनको कुरा खोल
तिम्रो मौनतासँगै
मेरा आँखाका डिल भिजेका छन्

तिमी भित्रको गाम्भीर्यले
मेरो मन भित्रभित्रै
छियाछिया भएको छ
तिमी र मैले
सल्लाघारीमा बिताएका ती पल
बारम्बार मलाई घच्घच्याइरहेछन्

बाल्यकालको लहडसँगै
घाँसलाई दुबोको माला ठानी
मेरो गलामा हालेका थियौ
अनि माटोलाई सिन्दुर ठानी
मेरो सिउँदो भरेका थियौ
के तिमीलाई सम्झना छ ?

एकपटक मेरो खुट्टामा चोट लाग्दा
तिम्रोआँखा आँसुले भिजेको थियो
मेरो सानो चोटमा रुने तिमी
जिन्दगीका हजारौं पीडासँग
एक्लै मौन भई कसरी जान सक्छौ
स्कुलको नाटकमा म सीतालाई
तिम्रो मिल्ने साथी रावणले
मलाई हरण गरेर लैजाँदा
तिमी नृसिङ्हलेझैँ झम्टिएका थियौ

अहिले कैयौं दुर्योधन
अनि दुशासनको बीचमा
म लाचार विवश द्रौपतीजस्तै
चीत्कारबिच हराएको आवाजमा
आऊ न प्रियतम
सुदर्शन चक्रसँगै एकएकको
घाँटी छिनालेर
रक्ताम्य पारिदेऊ

प्रियतम आऊ फेरि एकपटक
बाल्यकालका स्मृतिमा रमाउँदै
प्रेमिल जोडी भई बाँचौँ
अब त मौनतालाई भङ्ग गर्दै
उठ, केही त बोल
आफ्नो मनको कुरा खोल ।