
तिमी सुटुक्क अस्तायौ
सुदूर क्षितिजमा
मलाई एक्लै छोडेर
तर तिम्रा यादहरूको कुहिरोमा
म विलीन छु माया
मभित्र म छैन
केवल तिमी नै तिमी छौ
म भित्रको म त
चुर्लुम्मै डुबेको छ
आँशुको सागरमा
निस्सासिएको छ
पीडा र कहरको भुङ्ग्रोमा
मानिसहरू भन्थे
प्रेममा जीवन हुन्छ
तर माया !
हाम्रो प्रेमको शीतल छहारीमा
किन जीवन हारेर
मृत्यु बाँच्यो ?
प्रेमको सागरमा
सानदार धड्किरहेको सग्लो मुटु
किन टुक्रियो दुई चिरा भएर
यदि मृत्युलोकमा तिमीले
भेट्यौ भने विधातालाई
प्रश्न गर्न नबिर्सनु माया
प्रेमसँग मृत्यु साट्ने
तिम्रो न्यायको तराजु कस्तो छ भनेर
तिमी जानु नै थियो भने विवेक!
किन भ-यौ मभित्र प्रेमको महासागर ?
किन दियौ कहिल्यै नबिर्सने
प्रेमको अमूल्य उपहार
त्यति निष्ठुर बनेर
नअस्ताउन माया
खोल तिम्रा नयनहरू
उदाउ मात्र एकपल्ट
प्रेमको मुरली बजाउन
प्रेमको सङ्गीत सुनाउन
जुन धुनसँग
म जीवनका सारा कहर पिउनेछु
जीवनका सारा दुःखहरू पिउने
साहस भर्नेछु
उठ न माया
मात्र एकपल्ट उठ ।
सन्दर्भः सिर्जना र विवेकको प्रेममा आधारित कविता



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

