आरपी गाउँले

तीन वर्षदेखि मेरी छोरी
भोकको औषधी नपाएर
जाडामा कठ्याङ्ग्रिएकी छे
आमाको दूध नआएर
लैनो गाई किन्नुको सट्टा
घरघर चहारिरहेछु म
देश बचाउने औषधीको खोजमा
यसपालि अलिकति मलम लाउन
देशलाई पठाउनु छ कोसेली
बिमार परेको छ मेरो ।
**

पाँच वर्षदेखि स्वास्नीले तीजमा मागेको
रङ्गीबिरङ्गी साडीको सट्टामा
म देशलाई रङ्ग्याउने
रातो रङ खोज्न हिँडेको छु घरै छाडेर ।

वर्षौँ भयो घरमा बा थलिएको
हड्चुर र पाखनवेदको धूलो नखुवाई
म देश बचाउने सञ्जिवनी बुटीको खोजमा
नब्बे वर्षीया बा र तीन वर्षीया छोरीको यादलाई
घुर्मैलो गिदीमा अपाङ्ग सपना बोकेर
दशगजामा सगरमाथा ठड्याउने
स्केच गर्दैछु छोरीले देश लेख्न सिक्ने कापीमा ।
**

एक दशकअघि आमाले
खुट्टामा खिल पल्टिएका पाइताला देखाएर
काँडा झिकेदेन बाबु ! भन्दा
सट्टामा –
म देशको नाङ्गा खुट्टा ढाक्ने
टालाको खोजीमा आमा बिर्सेर हिनेँ ।
दश वर्षअघि थरी बाले तमसुखमा
ल्याप्चे ठोकाएर ब्याजको बन्धक बनाउँदा
म देशको ऋण तिर्न आफैँ धरौटी बसेँ ।
आज छोरालाई ज्वरो आएका बेला
एक गिलास हर्दी पानीसम्म नखुवाई
कालाबजारी, घुसखोरी र दलालजस्ता
प्राणघातक रोगले शैय्यामा छट्पटाउँदै गरेको देशलाई
आफू बिरामी भएर औषधीको खोजीमा निस्केको छु ।

अक्षता फल्ने खेतमा बाँझो उमारेर
म आफूचाहिँ बिरामी देशलाई जोखना हेर्ने
चार गेडा अक्षताको खोजीमा भौँतारिएको छु आफ्नै देशमा ।

**
यता –
गाउँ आकाश छ
गाउँ भोक, रोग र शोकले बिरामी छ,
बर्खा धानेको छैन दुई सालदेखि छानाले,
म देशको छानो टाल्ने औषधीको खोजीमा छु
टालाको खोजीमा छु देशको शिर ढाक्ने
किनकि देश वर्षौँदेखि शोकमा डुबेको छ ।

यो साल मैले कुनै योजना बनाइन गाउँ फर्किने
किनकि सबै आफ्ना भन्ने बिर्सेर
म एक पोको औषधी पठाउन
दुखेको देश जाने यात्रीको खोजीमा छु ।