दिनेश अधिकारी नयाँघरे

तेरो मेरो भनी तँछाड मछाड, गर्छौ हे मानव किन
एक दिन त पक्कै हो धर्ती छड्ने, घमण्ड तिमीमा किन
लोभ गर्छौ पाप गर्छौ तिमी, चेतना शून्य किन
छैन केही तिमीमा आज, मानवता हरायो किन

आफ्नै चेलिबेटी बलात्कृत भए, चर्कियो हिंसा किन
देश पनि लुटिँदैछ दिन दिन, रुने हो कति दिन
पुछिएको छ सिंदुर दिनदिनै, लाली हराई गयो
यस्तै यस्तै त भएर आज भोलि, मानवता हरायो

काख खाली हुँदै गयो है आमाको, छोरो विदेशी भयो
छैन सुख चैन आजभोलि यहाँ, कसरी बाँच्नु भयो
हत्या र हिंसामा लागे आज सबै, विवेक कता गयो
आजभोलि त्यसैले त यो देशमा, मानवता हरायो

बाँझो हुँदै गए पाखा र पखेरा, महल प्रेमी भयो
सुगन्ध दिने बगैंचा छैन कतै, सारा उजाड भयो
मायाँ छैन कसैलाई आज यहाँ, सबै विरानो भयो
आफ्नो स्वार्थ पूरा हुँदै जाँदा यहाँ, मानवता हरायो
काटमार जताततै आजभोलि, आफू आफैंमा भयो
मासिँदै गयो है धर्म र संस्कृति, तुच्छ स्वभाव भयो
मानिस नै दानव भएर आज, सांसर दुःखी भयो
हिजोआज तेसैले त दिनदिनै, मानवता हरायो

निलकन्ठ ७, पिप्ले, धादिङ
हालः ठूलो भर्याङ, काठमाडौँ