प्रकाश नेपाल

कमरेड !
भर्खरै मात्र मजदूरी गरेर घर फर्केको हुँ
थोरै भोक मार्न दिनोस, थोरै थकाई मार्न पाउँ
एकैछिन कमरेड
कृपया मेरो घर नभत्काई दिनोस्

कमरेड !
मैले मेरा छोरा छोरीहरु जनयुद्धमा गुमाएपछि
ऋणमाथि ऋण तिर्न नसकेर
घरबारबिहीन भएको हुँ
बर्खा छेल्न र दुई मुठी भोक फकाउन
चिसो भुइँमा ओछ्यान ओछ्याएको हुँ
र, यो बर्खामास र कोरोनाको निरंकुस सहरले
बेस्सरी चुस्दाचुस्दा मेरा नलीहाडहरु
त्यसै त्यसै गलेका हुन्
र मजदूरी पनि थला परेपछि
एक थाल जिन्दगी जोर्ने कहरले
थोरै पानी उमाल्ने ओदान मात्र बसाएको हुँ
त्यसैले एकैछिन कमरेड
मलाई सजिलै मर्न दिनुस्
कृपया मेरो घर नभत्काई दिनोस्
सम्झन्छु
मेरा पुराना दिनहरु
सम्झन्छु
मेरो एक मात्र निमेक गर्ने छोरो
झिसमिसेमै घरबाट निस्किएर
तपाईंकै पछिपछि ‘लाल सलाम’मा होमिएको हो
सपनै सपनाको रंगीन बादशाह सम्झिदै आफूलाई
‘कोही गरिब हुने छैनन् बाबा’ भन्दै
‘लाल सलाम’लाई आहुति दिएको पनि हो
र त्यसै दिन छिनिएका हुन् मेरो ओठबाट हाँसोका इन्द्रेणीहरु

कमरेड!
तपाईंकी सानी छोरी
कतै विदेशमा एबिसी सिक्दै गर्दा
यता मेरो सानी छोरी
‘बुर्जुवा शिक्षा’का कापी किताब च्यात्दै
घरबाट निस्किएकी हुन्
र, तपाईंकै छत्रछायाँमा
कलिला हातहरुले
निरङ्कुश बन्दुकका घोडाहरु थिच्न लागेका हुन्
तपाईंकै ‘गौरवशाली’ हमलाका दिन
मबाट अस्ताएकी हुन्
कमरेड
तपाईंले देखाएको बाटोभरि निरङ्कुश बतासले चिथोर्दा चिथोर्दा
घरबारविहीन भएको हुँ
झर्यामझुरुम्म फुटेको तकदिरमा अलिकति
‘एक्सपायर्ड’ सिटामोल घोलेर
एउटा मृत्यु मात्र कुरेको हुँ

त्यसैले कमरेड
मलाई सजिलै मर्न दिनुस्
कृपया मेरो घर नभत्काई दिनोस् ।