समाजवाद आउने प्रतीक्षामा
मेरा जिजुबुवा बा र मैले प्रतीक्षा गर्दागर्दै
आफ्ना लालाबालाका मुखमा माड लाउन
मुग्लान भासिने बाध्यतात्मक जिन्दगीको
निरन्तरता स्वरुप
मेरो छोरो मुगलान भासिनेहरुको लाइनमा
उभिएको छ
पोहर मल नपाएर अधियाँको खेतमा
लगाएको धानले वर्ष धानेन
पुरानै ॠणमा झन् बोझ थपियो
यसपालि पनि मलको लाइनमा घन्टौं बसेर
मल सिद्धियो भन्ने रुखो जवाफले फर्खेको ऊ
मल ल्याउने ठेकेदारलाई कार्बाहीको खबरले पनि हौसिएन
न हिजो उज्यालो न भोलि उज्यालो
अन्धकारै अन्धकार देखेर
भाग्य सराप्दै प्रारब्ध धिकार्दै
कोरोना कहरका बीच
दशैँका मुखमा मुगलान भासिन तयार भै बस्दा
छिमेकी मुखियाको घरको टेलिभिजनमा
कृषिमन्त्रीको पेट भरी खान पाइने भाषण र
मुखिया सहितका कार्यकर्ताको
तालीको गडगडाहट सुनेर
क्षुब्ध भएको ऊ
फुसको झुपडीमा टाउको घुसार्दै अलप भयो

मुग्लान यात्रा
गरिब माथिको मजाकको शृङ्खलाको
निरन्तरताको प्रतिस्वरुप
व्यवस्था बदलिँदा समाजवाद आउँछ भनियो
व्यवस्था बदल्न लड्यौ
तर व्यवस्था मात्र बद्लियो
शोषणको सीमा बदलिएन
नेता बदलियो नीति बदलिएन
भाषण बदलिए व्यथा बदलिएन
त्यही भएर समाजवादको प्रतीक्षामा
यस पटक पनि कोरना कहरको बेवास्ता गर्दै
सीमामा ताँत लागेर
मुगलान यात्रा जारी छ

सैबु, ललितपुर