
१) मुटुको मान्छे कसरी भयो गायब !
संजय सुमन
हराउने कुरा हो
हराउँछ
बग्यो होला प्रेमका अक्षरहरू
कुनै झरीसँगै
फुट्यो होला कफीका प्यालाहरू
टेबलको पिँधमा झरेर
गुलाब कतै मिल्काइयो होला
र कुच्याइयो होला
खुट्टाका कुर्कुचाले ।
छोडियो होला रुमाल निधारको पसिना पुछेर
कुनै रुखमुनि
उडायो होला गोडाका छाप
अन्कन्टार मरुभूमिको हुरीले
बगायो होला खोलाको किनारको पिपलको बोट
निर्दयी बाढीले ।
कोलाहल सन्नाटामा समाधिष्ट होला
सुनसान चिच्याउन सक्छ
कुनै गगनचुम्बी पर्खालहरूबाट ।
तर
कसरी हरायो ?
नहराउने कुरो
कसरी बग्यो ?
नबगिने कुरो
कसरी उड्यो ?
नउडिने कुरो
कसरी फुट्यो ?
नफुटिने कुरो
मुटुको मान्छे कसरी भयो गायब !
२) छुनु
जनक कार्की
तिमीले छोयौ यसरी –
जसरी चन्द्रमाले पोखरी छुन्छ ;
भाष्करले हिमाल छुन्छ !
जसरी मूर्तिकारले पत्थर छुन्छ ;
कुमालेले माटो छुन्छ !
जसरी पवनले पात छुन्छ ;
उमेरले बैँस छुन्छ !
जसरी कविले शब्द छुन्छ ;
सुफीले मन्त्र छुन्छ !
मैले छोएँ यसरी :
जसरी तेजाबले छाला छुन्छ ;
बन्दुकले मुटु छुन्छ !
बाढीले झुपडी छुन्छ ;
घामले मरुभूमि छुन्छ !
जसरी झिंगाले चिया छुन्छ ;
मट्याङ्ग्राले चरी छुन्छ !
जसरी आगोले वनजङ्गल छुन्छ ;
कामुकताले गाला छुन्छ !
जसरी नुनचुकले घाउ छुन्छ ;
बिरालोले मुसा छुन्छ !
हामी दुबैको क्रिया एउटै
उद्धेश्य एउटै – छुनु
तर परिणाममा फरक
तिमीले छुदा सबै सुन्दर
मैले छुदा कुरुप !
सायद हाम्रो प्रवृत्तिमा पो फरक पर्यो कि ?
३) अवशान : एक क्रम
अन्जान प्रदीप
“पुल”
म बाटो मात्र होइन,
उचाई पनि हुँ !
र त
यहीँबाट
खसिरहन्छन् –
कैयौं थान हारेका जिन्दगीहरु…!
“नदी”
मान्छेले पहिले –
ममाथि ढुङ्गा फ्याँक्यो,
र मेरो छातीको तरङ्ग हेरेर रमायो ।
त्यसपछी –
उसले ममाथि जाल फ्याँक्यो,
र मेरो छातीभरका जिजीविषाहरु सोहोरेर लग्यो ।
त्यसपछी उसले –
ममाथि आफ्ना सभ्यताका फोहोरहरु फ्याँक्यो ।
एकदिन –
सबै चीज
फ्याँक्दा-फ्याँक्दा
रित्तिएको उदास मान्छे
दिग्दारी / नैराश्य / र छटपटीहरु
खाँदिएको झोला बोकेर
आफूजस्तै जर्जर र जीर्ण पुलमा
उभियो ।
– त्यसदिन उसले ममाथि आँफैलाई फ्याँकिदियो !
“बगर”
यो
बालुवा नै बालुवाको
रास उधिनेर,
उनीहरुले के पो खोजिरहेका थिए कुन्नि ?
मैले त्यसबेला,
केही बुझ्न सकिरहेको थिइनँ ।
बाढीको त्यस दिन –
मेरो छातीका खाल्डाहरु
जब कैयन् लाशहरुले भरिए ।
तब बल्ल बुझेँ,
– उनीहरु त आफ्नै चिहान खनिरहेका पो रहेछन् !
४) एउटा समयपछि
जीवन तिवारी
एउटा समयपछि
कम हुँदै जाने रहेछ
उपहारको आदानप्रदान
एउटा समयपछि
सकिंदै जाने रहेछ
फूलहरुकाे सट्टापट्टा
एउटा समयपछि
हराउँदै जाने रहेछ
अंगालाेकाे न्यानाे
एउटा समयपछि
पखालिंदै जाने रहेछ
स्पर्शका छुवाईहरु
एउटा समयपछि
खुम्चँदै जाने रहेछ
हालखबर काे साेधपुछ
खुम्चँदै जाने रहेछ
दैनिक बाेलचाल
एउटा समयपछि
ओईलिंदै जाने रहेछ
प्रेमकाे फूल
एउटा समयपछि
सकिंदै
हराउँदै
खुम्चँदै जाने रहेछ
सब कुराकाे शिलशिला
यी सबै कुरा
सकिएपछि पनि
कतै बाँकि रहँदाे रहेछ
कुनै एउटा कुरा
सकिए पछि सबै कुरा
सुरु हुने रहेछ
यादकाे शिलशिला
सुरु हुने रहेछ
सम्झना, विर्सनाकाे खेल !
५) एउटा स्थायी कथा
दर्शन सरकार
सुत्केरी व्यथाले छट्पटीरहेकै बेला क्षितिज
छेत्रीपाखाबाट
पाखैजत्रो घाँसको भारी
याक्सामा बिसाउँदाको कम्पनले
अन्तुमा जन्मिन्थ्यो एउटा नयाँ दिन
भाग्यका कच्ची बाटाहरु दौडिरहने
हत्केलाभरि ठेलाका थुम्केरानीहरू
जहाँ हरेक याम पहिरो जान्छ
र भइदिन्छ जिन्दगी
तारेभिरभन्दा भिरालो
लाग्छ;अब त्यहाँ
कुनै सपनाको बस्ती सम्भव छैन
छोरो लड्दैपिच्छे
मधेस नियाल्दा-नियाल्दा गलेका आँखा
आँखैबाट बगेको
अश्वस्थामाको आयुजस्तो पसिना
जो बतासले ओभाउँदैन
छातीलाई चिसो ओडाउन
कुनै रात आउँदैन
यी सबै बाका कथा!
एक युग बासङ्ग गीतहरु पनि थिए
“कस्तो छ मन के भन्नु?
नबोलेसम्म के जान्नु
कवाईपातले घुम छाप्नु
मायालु ओठले मन छाम्न्नु”
घुम खरानी भएसङ्गै
बाले गाउने कति कति गीतका
अन्तराहरु हराए!
बाँकी छन बचेका केही स्थायी
कथा भएर,
मलाई थाहा छ
बेसीमा धान झुलेकै याम
गाउँले देउसी गाउनेछ
ब्याडमा असारेगीतले टुसा लाउदै गर्दा
“सोइढोले सोइ” गाउँदै
मकैका डोकाहरू लेक चड्नेछन
मलाई थाहा छ
अब मैले उठाउनु छ हलो
जोत्नु छ एक अन्तरा गरा
एक अन्तरा बारी
छर्नु छ मनै छुने बिम्बहरु
र पूरा गर्नु छ
बाले बिर्सिएका बाका गीतका अन्तराहरू
मैले
अब फेरि सुनाउनु छ बतासलाई
बाका गीतहरु
उहिले उहिले
बाहरू गीत गाउँथे रे
ऐले बाहरू कथा सुनाउँछन ।
६) तिम्लाई बिर्सिए पछि
दिपा मेवाहाङ राई
कुनै समय यस्तो थियो
बतासको झोक्का संगै तिम्रो बोलिको
गुनगुनाहट पर्थ्यो मेरो कानमा ।
तिम्रा पाइतालाले हिड्थ्यो
मेरै प्रेमको नगरी टेक्दै टेक्दै
समुन्द्रको छालहरुले तिम्रै स्पर्श गरेर जान्थे ।
ऋतुहरुले प्रत्येक पल्ट
तिम्रो नामको याम बोकेर ल्याउथे
चराहरुले तिम्रै पिरतीको गित गाँउथे ।
फेरि एक समय यस्तो आयो ।
कल्पनाको मैदान भित्र
तिम्रो यादहरुलाई प्रवेश निषेध गरिदिए
सम्झनाको आकाश बाट
हटाईदिए तिम्रो नामको अक्षर ।
तिमिलाई बिर्सिए देखि त हो
मैले आफुलाई सम्झिन्दै गएको छु ।
७) सम्झना
सम्पदा
हुनसक्छ
हृदयमा पसेको उदास बाढीमा
अनेक भावनाका उछालहरुले
डुब्दै छौ ~ तैरिदैँ छौ
तैरिदैँ छौ ~ डुब्दै छौ
हुनसक्छ,
दिक्दार छौ,
भर्खरै पर्दा छोएर गएको
हावाको नित्य अस्तित्वसङ
कम्पित छौ,
बिजुलीको तारमाथी बसेर
चराले गाइरहेका जीवनगीतहरुबाट
स्खलित छौ,
आफ्नै अस्तित्वको औचित्यबाट
सम्झनु,
कहिलेकाहीँ,
बाँधिन सक्छ हावा पनि बेलुनहरुमा
कहिलेकाहीँ,
अँध्यारो कोठामा
झ्यालको कापबाट छिरेको
एक धर्सो उज्यालो पनि
डराउन सक्छ आफ्नै अस्तित्वसङ
कहिलेकाहीँ,
अड्किन सक्छ
बादलको चोक्टा पनि
कुनै पहाडको खोँचमा
बिस्तारै बिस्ता…….रै
चुहिनु
चुरोटका प्रकम्पित धुँवाहरुमा
बिस्तारै बिस्ता…..रै
पग्लिनु रित्तिदा रक्सीका बोतलहरुबाट
हरेक रात
सिरानीमा घुस्न आउने
तिम्रो एक थान सम्झनाका
हजार थान छट्पटी चेपेर
तिमीलाई नै पर्खिरहेको हुनेछु!



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

