शेखर विकल्प

प्रिय दाजु,
तिमीले कोरेको संस्कारको लक्ष्मणरेखा भित्रबाट
सम्झना र नमस्कार

मलाई थाहा छ तिमीले मेरो खुसीको लागि
घरबास छाडेर प्रवासी भएका छौ
आमाको ओठको मुस्कानका लागि
परदेशमा १२ घण्टा गोरू भएर जोतिएका छौ
भाउजूको सिन्दूरको लागि मरूभूमिमा
२४ घण्टा गधा बनेर लादिएका छौ

हुन त तिमीमा श्रुतिमधुर आवाज छ कोइलीको जस्तो
तिमी दिग्गज ज्ञानी छौ वेद व्यासजस्तो
बलिष्ठ छौ भीमजस्तो
तर तिमी छौ त तिम्रा लागि छौ
केवल तिम्रो पितृसत्तात्मक समाजका लागि

सत्यको वेदीमा सती गएर
झूटको सफेद चिवर ओढेर
भ्रमको बही खातामा
चुपचाप लेप्चे लगाउन सकिएन दाजू
मलाई माफ गर !

तिमी सत्य युगका शिवजस्तो लाग्छ
जसले ७ वर्षे गोमालाई परिबन्धमा पारेर
गर्भिणी तुल्याई विधवा बनाई छाड्यौ
तिमी विष्णुजस्तो कपटी लाग्छ
जसले पतिव्रता वृन्दाको सतित्व हरण गर्ने हेतु
छल गर्न पछिपरेनौ

तिमी त्रेता युगको रामजस्तो लाग्छ
जसले बालीको नाश गरेर ताराको सिंदूर खोसिदियौ
जसले गर्भिणी सीतालाई जंगलमा एक्लै छाडेर हिँडिदियौ
अझ यौटा धोबीले राखेको निम्छरो सवालमा
श्रीमतीलाई नै अग्निकुण्डमा होमिदियौ

तिमी द्वापर युगको निष्ठाहीन युधिष्ठिरजस्तो लाग्छ
जसले श्रीमतीलाई पासामा लिलाम गरिदिन्छौ
तिमी दुर्योधन हौ, जसले भाउजू बुहारीलाई नंग्याउन खोज्छौ
र, दुशासन बनेर चिरहरण गर्छौ

शकुनी बनेर बहिनीलाई उचाल्छौ र घरमा आगो लगाउँछौ
अझ त्यो भन्दा खुनी धृष्टराष्ट्र हौ
जसले अन्धसमानताको नाउँमा गान्धारीको आँखाबाट पट्टी फुकाउन चाहन्नौ र विवेकदेखि बन्दी बनाएर राख्छौ

तिमी हिरण्यकश्यपु हौ
जसले जसले आफ्नै छोरो प्रह्लादलाई मार्न
बहिनी होलिकालाई ढाल बनाउँछौ
तिमी कंश हौ जसले भान्जालाई मार्न
बहिनी पूतनालाई हतियार बनाउँछौ

तिमी व्यभिचारले ग्रसित ईन्द्र हौ जसले दरबारमा
कलिला युवतीहरूको
नग्न नृत्य र मदिराको लयमा
देश हाँकेको आँक दिन्छौ राज्यलाई अनुपम वर्णन गरेर मिथ रच्न लगाउँछौ

आज म त्यही परम्परा र संस्कारको जालोमा
जकडिएको समाजमा जीजिविषा जोगाउँदैछु
मेरो लाज पातलो सलले जोगाउन खोज्छु
मेरो इज्जत जोगाउन मैले उन्मुक्त हाँसो रोकेकी छु
मेरो घरको खानदान जोगाउन एक्लै दुई पाइला अघि बढेकी छैन
संगीसँग चर्को बोलेकी छैन, मान्यजनलाई सिधा नजरले हेरेकी छैन र
धेरै रहरहरूलाई बलि चढाएकी छु

म अझ तिनै पुरूषहरूको सुरक्षामा बाँचेकी छु
जो सार्वजनिक शौचालयमा अश्लील शब्द लेख्दै हिँड्छन्
साँघुरा बाटोहरूमा उत्तेजना पोख्दै हिँड्छन्
अबला नारी देखे कामुक नजरले गिज्याउँछन्
भट्टीमा नारीको निन्दा नगरे पसल चल्दैन
चौतारोमा स्त्रीको धज्जी नउडाए बैठक सकिन्न
जो युवकले युवतीको फ्लर्ट नगरे मर्द कहलिन्नन्

समानताको खोक्रो आडम्बरमा प्रतिशतको हिसाबमा
व्याप्त छ पौरुषीय समाज
यहाँ हरेक पुरूषहरू नारीको कपालमा कविता लेख्छन्
आँखालाई गीतमा उतार्छन्
ओठलाई कथा बनाउँछन्
वदनलाई उपन्यास नै लेखिदिन्छन्
अंगअंगको वर्णनमा काव्य खडा गरिदिन्छन्
यो कस्तो सम्मान हो, कस्तो समानता हो ?

मोहरामा एउटी निम्छरो महिला उभ्याएर
महिलाकै भजन गाएर महिलाकै शोषण गर्न
अभिशप्त छन् बहालवाला मुकामहरू
कसको विश्वास गरौं, कसको भर परौं ?

प्रिय दाजु
पुरूष भनेको त्यस्तो के जरा हो
जसमा ऐजेरू नै पलाउनु पर्ने
आकाशेबेली लहरा भएर साम्राज्य फिँजाउनु पर्ने
स्त्रीको उज्यालो स्वीकार्नै नसक्ने
के कैले कल्पना गरेका छौ स्त्री बिनाको समाज ?
के तिमीले बाँचेको देश पनि त्यस्तै छ ?

तिमीले कहिले नांगो आँखाले बहिनीलाई हेरेका छौ
कहिले बहिनीको नजरले आफूलाई हेरेका छौ
लाग्छ तिमीलाई हामी एकै तुलोका दुई तराजु हौं
के तिम्रा र मेरा आकांक्षााले यौटै उचाई र आयतन ओगट्न पाए ?

तिमी त्यही पुरूष हौ जो उही नारीको अमृतमय दुध पिएर
उही नारीलाई स्यालले सिनो जसरी लुछ्न पछि पर्दैनौ
तिमी त्यही पुरूष हौ जो छोरो जन्मिए उत्सव र छोरी जन्मिए सौता हाल्छौ
तिमी त्यही पुरूष हौ जो गर्भमै लिंग पहिचान गरेर
छोरी भए गर्भपतन गराउन पछि पर्दैनौ
र तिमी त्यही पुरूष हौ
आफैँले बलात्कार गरेर ढोकाबाट निस्कदै
त्यही नारीलाई वेश्या र आफूलाई मर्द साबित गर्छौ

मलाई माफ गर
प्रिय दाजु
म तिम्रो पुरूषार्थलाई कुन नैतिकताले सम्मान गरौं ?
म आज त्यस्तो कुत्सित विचारले अभिप्रेरित समाजमा बाँच्न विवश छु
जहाँ मैले आफ्नै बाउ-दाइ र भाइलाई पनि विश्वास गर्न सक्दिनँ

प्रिय दाजु
के तिमीले मेट्न सक्छौ तिमीले कोरेका सनातनी संस्कारका लक्ष्मण रेखा,
के तिमी मलाई साथ दिन्छौ नारी मनले
भन्न सक्छौ –
छोरी जन्मनु अभिशाप हुँदैहैन
त्यसैले वरदान साबित गर्नु !

मलाई एक पटक कात्यायनीको अवतार लिनु छ
काली भएर उत्रिनु छ समाजमा
गर्नु छ कुकृत्यको नरसंहार
र भत्काउनु छ पुरूषको साम्राज्य

हो दाजु
भित्तामा झुण्डिएका तिम्रा तस्बिरहरू हेर्छु
तस्बिरका आँखाले पनि कुदृष्टिले हेरे जस्तो लाग्छ
बलात्कार गर्ने दाउ पर्खे जस्तो लाग्छ
पुरूषका छायाँ र पदचापहरू हेर्छु
एसिड छ्याप्न पछ्याएजस्तो लाग्छ आफैँलाई ।