हिउँदको चिसो सिरेटोले
खाएका मेरा मनमा
विस्मृत तिम्रा तस्वीरहरू
लाहाछाप लागेझैँ
नमेटिने गरी छापिएका छन्
कयौँ पल मनले मनलाई सम्झाउँदा पनि
मेटिने कुनै एक पल कहीँ भेटिएन
पल पलमा मेरो मुटुलाई रेट्दै, गिजोल्दै, तछाडमछाड गर्दै
ओइरिए तिम्रा यादहरू
कुनै पल थियो तिमी एक पल मबाट दूर हुन्थेनौं
पल पलका खबर अखबारमा छापिएजस्तै आउँथे
म सामु
सामाजिक सञ्जालले अखबार खाएझैँ
तिम्रा बेखबरले मेरो मन मुटु, कुटुकुटु खाएको छ
देखिन्न घाउ, भेटिन्न रोग
तर, पल पल मलाई तिम्रो यादको बिमारले सताएको छ
यो हाल तिमीलाई पनि होला
कसले छ र मुटुमै बसेर मुटुबारे थाहा पाएको
बस दुख्छ मुटु, टुट्छ अश्रुधारा
किन मलाई तिमीले यसरी सताएको ?
थाहा छ तिमी मेरै हौ, फेरि मलाई नै किन गलाएको,
मायाले यति धेरै दुख्छ भने, यो मन किन चलाएको ?
बस छामी हेर मेरो मुटु भेट्छौ आफ्नै चित्र
हरपलमा तिमी नै छौ म भित्र, हाम्रो माया यो पवित्र ।
नुवाकोट, नेपाल



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२३ कार्तिक २०८२, आईतवार 




