भन्न सजिलोजस्तो गरेको भए सुनाम ख्यात हुन्थ्यो
मखुन्डोभित्रको विकृत अनुहार बाहिर आइदिए हुन्थ्यो

पछिपछि लाग्दा देखियो दिउँसै मुलुक लुट्ने गरेको
निर्लज्ज भएर खानेहरूको बिगबिगी छ रवाफको

कहिले हो फर्किने हाम्रा दिन भन्ने गनगन छ गरीवको
कल्ले सुन्ने जनचीत्कार बहिरो सत्ता छ बिना लगामको

फुल्ने समय ओइलाएर झरिसक्छन् अभावले कोपिलाहरू
अनुहारमा उज्यालो छैन सधैँ बन्द छन् निमुखा आवाजहरू

सुकुम्बासी छन् सपनाहरू पुस्तौँ छाप्रा कटेराको बास छ
डढेलोले पोलेको बाढीले बगाएको निराशनिराश जीवन छ

झुट्टो आश्वासनको छेलोखेलो छ भूकम्पपछि दिइएको
अवश अनुहारमा धाँजा छन् अनास्था र अविश्वासको

बहिष्कार छ, छ उपेक्षा, छ जताततै निर्मम अन्धप्रहार
बाँच्नु छैन सुखले, अनिश्चयमा थुनिएको गतिमति आज

कतै नजाऊँ मित्र, भन्छु आवाज मर्न नदिऊँ अँध्यारोमा
दिन कसो नआउला निर्मल, बाँच्नु छ सङ्घर्षमा आज ।