देशसँग माटो मात्र हुँदैन
माटोसँगै फुल्ने जीवन पनि हुन्छ
देशसँग जीवन मात्र हुँदैन
जीवनसँगै रम्ने विपना पनि हुन्छ
शब्द-शब्दमा उनिएका
हाम्रा पौरखी माटोहरूलाई
कण-कणमा रोपिएका
जीवन्त आयामहरूलाई
निश्चय पनि
अँध्यारोले उजिल्याउन सक्दैन
रापिलो घाममा निदाएका
अपरिचित अनुहारहरू
अपरिचित प्रार्थनाहरू
देशको खुसी बन्न सक्दैन
आयामहरू सिरानी हालेर
सपनीमा ईर्ष्याहरू देखेको थिएँ
केही आशीर्वचन सुनेको थिएँ
ती वाणीहरूलाई चुमेर
आहत मुटुहरू
अझै स्नेही जलप खोज्दै छन्
निरन्तरको एउटा क्रम
एउटा सिलसिला
यति थोरै बिहानीमा
यति धेरै वियोगहरू
किनारभरि
एउटा जीवन व्याप्त छ
त्यहाँ आफ्नै विलौनाहरू छन्
त्यहाँ आफ्नै खुसीका आँसुहरू छन्
अभिलेखहीन ती आँशुहरू
बेहिसाब ती खुशीहरू
जिन्दगीसँग एक रात
म सम्झन्छु
आतसले रूझेको
अन्धकारले छोपेको
नयाँ सम्भावनासँगै उदाएका
अग्रगामी चेतनाहरू सम्झन्छु
इतिहास हराएको
त्यो फराकिलो आँगनमा
अलिकति निराशाबोध रोपेर
अझै त्यो चोट भोगिरहेको छु
अझै त्यो वियोग सम्झिरहेको छु !
आयामहरू थपिएका छन्
ओइलिएका तृष्णाहरू
भत्किएका सौभाग्यहरू
कसैले पनि पानी सोधेन
कसैले पनि हाल सोधेन
त्यो लोमहर्षक
त्यो आँगनीमा
त्यहाँ एउटा गर्वबोध थियो
त्यहाँ एउटा तत्वबोध थियो
मन आफैँ उज्यालिने
मन आफैँ सम्हालिने
त्यहाँ अनगिन्ती देवबोध थियो !

अझै मसँग
केही कदमहरू छन्
अझै मसँग
केही आवाजहरू छन्
नेपाली आँखा भएर
नेपाल हेर्नुपर्छ
नेपाली पाखा भएर
नेपाली पसीना बग्नु पर्छ
म एउटा जोशहरू खोजिरहेको छु
म एउटा होसहरू खोजिरहेको छु
माटोसँगै जरालाई भर दिने
म एउटा विश्वास खोजिरहेको छु !

हाल: अमेरिका