आमाको गर्भमा अनेकन् कष्ट सहेर जन्मन्छ भूलोकमा स्वतन्त्र शिशु…
हुर्काउँछन् मातृत्व एवं पितृत्व स्नेहले ठानेर आफ्नो रक्त प्रवाहित मुटु…
जो जन्मनासाथ जननीविहीन बन्न पुग्छन्, खान्छ कोमल हृदय कुटु- कुटु…
पिताको छहारी पाए त बेसै हो, कसले देख्ने खै यहाँ टुहुराको बलिन्द्र आँसु ?
पृथ्वी टेक्दा नै फरक-फरक कर्मको लेखा-जोखा लिई आउँछन् साथ…
भनिन्छ नि, “छैँठीको रात नै कोरिन्छ भाग्य हरेक नवजातको माथ”
दुर्भाग्यवस् विलीन हुन्छन् कोही पञ्चतत्त्वमा, शीरमा यिनको यमराजको हात…
बालमृत्युदर घटाउन सजक हौँ हामी सारा, कमजोर ती कलिला मुनाका गाथ…
बालदिवसमा आयोजित समारोहमा बाल अधिकारका फोस्रा नाराले केही हुन्न सरकार…
हरेक बालबालिकाको हक-हित र संरक्षणको निम्ति बनाउन आवश्यक छ पूर्वाधार…
सर्वविदितै छ यिनै हुन् राष्ट्र हाँक्ने सिर्जनशीलता समाहित भविष्यका वीर कर्णधार…
कीमार्थ वर्जित गर्नुपर्छ यिनमाथि हुने शारीरिक तथा मानसिक शोषण र व्यभिचार…
बालश्रम रोकौँ हाम्रो परिवार र समाजको, बुझौँ यो हो जघन्य अत्याचार…
गुम्सिएर मर्न नदिऔँ सबै बच्चाको कौतुहलता मिश्रित सिर्जनशील विचार…
अनावश्यक हस्तक्षेप नगरौँ, विचरण गरुन् कल्पनाको नभमा, छुट्टै बालसंसार…
बनाऔँ जगतलाई बालबाटिका, यिनै हुन् भोलिको मानव अस्तित्वको आधार ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।