यो युवती निर्वस्त्र मेरो अगाडि उभिएकी छे
र जिद्दी गर्दैछे कि
म यसको समालोचना गरिदिऊँ ।
म यसको समालोचना गरेर भन्दिऊँ कि
यसको आत्मा मल्ल कालमा छ र यसले
राजकुमारी भृकुटीको देह पहिरेकी छे ।
म यसलाई भन्दिऊँ कि-
यसको देहको पसिना राजा यलम्बरको थुक जस्तो छ,
यसका आँखाहरू
गोपालवंशीकालीन गाईका आँखा जतिकै कन्चन छन्,
यसको गन्ध मगर भाषा जस्तो छ,
यसको छालाको रङ तामाङ भाषा जस्तो छ ।
यसलाई त यति पनि थाहा रहेनछ कि
मैले तीन सय वर्षअघि नेपाली भाषामा बोलेको वाक्यलाई नै
यसले कम्मर बनाएर बेरेकी छे
यसलाई भन्दिऊँ कि
यसका वक्षहरू
ती बज्यैले चार सय वर्ष अघिदेखि सोचिरहेकी केही हो,
तर ती बज्यै अहिले कहाँ छिन् थाहा नभएकोले
तिनले कुन भाषामा के सोचिरहेकी थिइन्
अझै मेसो पाउन सकिएको छैन ।
यसलाई भन्दिऊँ कि
यसका ओठ
माझीहरूको लोप भइसकेको भाषा हो !
यसले निर्वस्त्र भएर
समालोचना गरिदिन ढिपी गरेकी गर्यै छे,
म पनि यसलाई भन्दिऊँ कि
मलाई माझीहरूको लोप भइसकेको भाषा बोल्न मन लागेको छ ।
यसको गालाको कोठी
तिला नदीको पारि भएको भए सुहाउँथ्यो भनूँ कि
राजा वसन्तदेवको शासनकालदेखि सय वर्ष वर रहेको भए सुहाउँथ्यो भनूँ ?
म यसलाई भन्दिऊँ कि‑
यसको आवाज राजा द्रव्य शाहको दरबारको गाग्रीभित्रबाट आइरहेको छ।
पुरातत्त्वविद्सित सल्लाह गरेर यसलाई भन्दिऊँ कि
यसको देहभित्र बीस फिट तल गडेको सास
तीन हजार वर्ष पहिलेकी स्त्रीको हो ।
यो युवतीले राम्री छु कि छैन सोधेर हैरान पारिसकी ।
म यसलाई भन्दिऊँ कि
राजा सिद्धिनरसिंह मल्ल जुन भजन सोच्दासोच्दै मरे
त्यो भजन यसकै सौन्दर्य हो,
यसलाई अब भन्दिऊँ कि
राजा सिद्धिनरसिंह मल्लको त्यही भजन
मलाई सार्वजनिक स्थलमा गाउन मन लागेको छ।
(नोट: नेपालमा गोपालवंशी राजाहरूले ईशापूर्व २७१ देखि ईशापूर्व १५० सम्म शासन गरेको मानिन्छ । ईशापूर्व १०६ देखि ईश्वीसम्बत् २२३ सम्म नेपालमा किरातकालीन राजाहरूले शासन गरेको मानिन्छ। यलम्बर किरातकालीन प्रथम राजा हुन्। वि.सं. ५६३ मा तात्कालिन काठमाडौँका राजा भएका लिच्छविवंशी राजा वसन्तदेवले पहिलो पल्ट ‘नेपाल’ शब्द प्रयोग गरेका हुन्। भृकुटी वि.सं. ६६१ का नेपाली लिच्छविकालीन राजा अंशुवर्माकी छोरी हुन्। द्रव्य शाह वि.सं. १६१६ मा गोरखाको राजा भएका थिए। वि.सं. १६७५ मा पाटनको राजा भएका मल्लवंशी राजा सिद्धिनरसिंह मल्ल आफैँले मैथिली भाषामा भक्ति गीतहरू लेखेका थिए।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ कार्तिक २०८२, शनिबार 









